काठमाडौं । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व सम्पन्न भएको छ ।काठमाडौंवासीले पनि आज पोखरी र नदी किनारबाट उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरेका छन् ।काठमाडौंका थापाथली, गौरीघाट, कमलपोखरी र रानीपोखरीमा उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ समापन गरिएको हो ।त्यस्तै, बागमती किनारमा भेला भएका व्रतालुले गाईको दूध, फलफूल र जलले अर्घ दिए । छठका व्रतालुले आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिएका थिए ।व्रतालुहरु कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि छ । कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकांक्षा पूरा भई इच्छाएको फल प्राप्त हुने धार्मिक विश्वास छ । यस अवसरमा सूर्य पूजा र दर्शन गरी विवाहिता महिला–पुरुषले पति–पत्नीको दीर्घायु एवं अविवाहिताले सुयोग्य वर–वधु प्राप्तिको कामनाका लागि गर्छन् ।छठ पूजाले सन्तान प्राप्ति हुने धार्मिक विश्वाससमेत व्याप्त छ । पृथ्वीमा भएका जीवको सञ्चालन र संरक्षण जल एवं सूर्यबाट भएकाले नदीलाई माता, सूर्यलाई सम्पूर्ण शक्तिको स्रोतका रुपमा मानी विशेष पूजा गर्ने गरिएको बताइन्छ ।विशेष गरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौंलगायत पहाडी क्षेत्रमा समेत मनाउन थालिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here