बारा ।
कोल्हबी नगरपालिका–११ खगदेस्थित सडकमा तामागढीबाट सिम्रौनगढतर्फ जाँदै गरेको प्र.०२–०३ ०१ च ४९२० नम्बरको पिकअपको ठक्करबाट साइकलयात्री रौतहट मौलापुर नगरपालिका–८ सोनरनिया टोल बस्ने ४५ वर्षीय अधिकारी यादवको आइतबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल कलैया हुँदै एलएस न्यूरो अस्पताल गण्डक बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले पिकअप चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
चट्याङ लागेर मृत्यु
नवलपरासी पश्चिम, रामग्राम नगरपालिका–१४ प्रसवाल बस्ने ३५ वर्षीय ठाकुर नाथ कवरको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको छ । घर नजिकै रहेको खेतको कुलोमा गएको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुही रूपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
चितवन, माडी नगरपालिका–१ शिकारीपुर बस्ने ५० वर्षीया सरस्वती महत्तोको चट्याङ लागेर आइतबार बिहान मृत्यु भएको छ ।आफ्नै गोठमा भैंसीलाई कुडो हाल्न जाँदा चट्याङ लागेर गम्भीर घाइते भएकी उनको बघौडा अस्पताल माडीमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बाँके, नेपालगंज उपमहानगरपालिका–१३ रामलीला मैदान नजिकै सोही उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीया बालिया पठान आइतबार मृत अवस्थामा फेला परेकी छिन् । बर्दिया, बारबर्दिया नगरपालिका–८ भगतपुर बस्ने ६० वर्षीय टेक बहादुर तिरूवा आफ्नै सहोदर जेठो छोरा हस्त बहादुर तिरूवाको घर नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् ।
रूपन्देही, गैडहवा गाउँपालिका–३ गोबरौली बस्ने ६९ वर्षीय मिठ्ठु चाई सोही ठाउँस्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सर्लाही, हरिपुर नगरपालिका–४ हरैया बस्ने ५० वर्षीय शुकरात माझी सोही ठाउँस्थित पोखरीमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








