सिरहा, १५ चैत |

मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक अस्पतालमा रहेका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको बताउनुभएको छ । गृहजिल्ला सिराहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक प्रादेशिक अस्पतालको निरीक्षण गर्दै उहाँले अस्पतालको स्तरोन्नति, सेवा प्रवाह, स्वास्थ्य प्रयोगशालालगायत विद्यमान समस्या समाधानका लागि प्रदेश सरकार तयार रहेको बताउनुभयो । प्रादेशिक अस्पतालको समग्र विकास, सेवा प्रवाह र यसको स्तरोन्नतिका लागि सरकार सदैव सकारात्मक रहेको मन्त्री सिंहको भनाइ छ । “नागरिकलाई सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने हाम्रो लक्ष्य छ । तसर्थ सेवा प्रवाहमा कुनै समस्या भए तत्काल जानकारी गराउँनुस्, समस्या समाधान गर्दै जानेछौँयसअघि थालिएका राम्रा कामलाई पनि निरन्तरता दिनेछौँ ।

मन्त्री सिंहले प्रादेशिक अस्पताल लहानको जग्गा रजिस्ट्रेशन गर्दा दाताद्वय शारदा र मुरारका परिवार तयार हुँदा राजस्वसम्बन्धी समस्या देखिएकाले सो समस्यालाई चाँडै समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । निरीक्षणका क्रममा ‘हेल्पिङ ह्याण्ड’ र ‘हेल्पिङ हर्ट’ संस्थाले उपलब्ध गराएको रु ३४ लाख ६६ हजार आठ सय ७४ पर्ने एक सय ४४ किसिमका स्वास्थ्य उपकरण मन्त्री सिंहले अस्पताललाई हस्तान्तरण गर्नुभयो । उहाँले स्वास्थ्य प्रयोगशालाको निरीक्षण गर्दै अभाव रहेका उपकरण तथा अन्य सामग्री र उपलब्ध रहेका उपकरणकाबारे जानकारी लिनुभएको थियो । अस्पतालका सबै तहका कर्मचारीले कुनै किसिमको लापरवाही नगरी काम गर्नुपर्ने भन्दै लापरवाही भएको प्रमाणित भए कारबाही गर्न पनि पछि नपर्ने मन्त्री सिंहले बताउनुभयो । प्रदेशभरि बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने भन्दै उहाँले मधेस स्वास्थ्य प्रदेशको नारा कार्यान्वयन गर्न आफू इमान्दारीपूर्वक लाग्ने बताउनुभयो । प्रादेशिक अस्पतालको स्तरोन्नतिमा रहेका बाधाव्यवधान फुकाएर अस्पतालको विकासका लागि सकारात्मक पहल गरिदिन प्रदेशसभा सदस्य राजकुमार गुप्ता र लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोले मन्त्री सिंहको ध्यानाकर्षण गराउनुभएको थियो । सोही अवसरमा मन्त्री सिंहलाई रक्तसञ्चार केन्द्र लहान र रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालले सम्मान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here