रौतहट,२५ फागुन |
राष्ट्रिय युवा संघ नेपाल रौतहटले टेण्डर लिन गएका युवकलाई वन कर्मचारीले पक्राउ गरी हिरासतमा राखेकोप्रति आपत्ति जनाएको छ । वन कार्यालयमा टेण्डरको फाराम लिन जाँदा सर्वसाधारण पक्राउ पर्नुपर्ने घटना निन्दनीय भएको भन्दै संघले आपत्ति जनाएको हो । डिभिजन वन कार्यालय रौतहटको समन्वयमा सामुदायिक वनले काठ लिलामको लागि सूचना निकालेको थियो । सोही सूचनाका आधारमा कार्यालयमा फारम लिन पुगेका चन्द्रपुर नगरपालिका वडा नं. २ निवासी विक्रम लामालाई वन कर्मचारीले पक्राउ गरी हिरासतमा राखेका छन् । नेकपा एमाले निकट संघले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका लामालाई विना सर्त रिहा गर्न माग गरेको छ । राष्ट्रिय युवा संघ नेपाल रौतहटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘वन कार्यालयका कर्मचारीले आफ्नो सेटिङ भत्किने डरले वनका अध्यक्ष पुलामी र कर्मचारी महतोले षड्यन्त्रपूर्वक तरिकाले डिभिजन वन कार्यालय रौतहटको कार्यालय परिसरमा टेण्डर फर्म किन्न गएको बेला कार्यालय बाटै निराधार आरोप लगाएर जवरजस्ती पक्राउ गरिएको कार्यको खेद व्यक्त गर्दछौँ ।संघले डिभिजन वन कार्यालय रौतहटका डिभिजन वन प्रमुख शैलेन्द्र कुमार मिश्रको प्रत्यक्ष निर्देशनमा गैरकानूनी ढंगले हिरासतमा राखिएकोप्रति ध्यानाकर्षण भएको भन्दै यसलाई गम्भीर रुपमा लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यो गैरकानूनी कार्य तुरुन्त सच्याउन माग गर्दै निर्दोष लामालाई तत्काल निःशर्त रिहा गर्न र षड्यन्त्रकारी कर्मचारी सुरेश महत्तोलाई कारवाही गर्न राष्ट्रिय युवा संघ नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।







