काठमाडौँ, ११ पुस |
नेपाली कलालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सिद्धार्थ आर्ट फाउण्डेसनबीच सहकार्यको सहमति भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली र फाउण्डेशनका अध्यक्ष सङ्गीता थापाले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।त्यस अवसरमा कुलपति हार्तम्छालीले कला क्षेत्रको विकास तथा विश्वभर प्रचारप्रसार गर्न सार्वजनिक–निजी साझेदारी अपनाउन आवश्यक भएको बताउनुभयो । विश्वमा हाम्रो कलालाई चिनाउन सरकारी तथा गैरसरकारी सङ्घ–सस्थासँगको सहकार्य आवश्यक छ । फाउण्डेसनका अध्यक्ष थापाले मौलिक कलालाई सङ्घ, प्रदेश हुँदै स्थानीय तहमा परिचित गराउने तथा त्यसलाई अन्तर्राष्ट्रिय जगत्मा लैजान यो सहकार्य गरिएको बताउनुभयो ।चित्रकार सुजन चित्रकारले अन्तर्राष्ट्रिय कला महोत्सवका रुपमा ‘काठमाडौँ ट्रियनियल’ आयोजना गरेर विश्व समकालीन कलाको लागि नेपालको प्रमुख अन्तर्राष्ट्रिय मञ्चका रुपमा काम गरिरहेको बताउनुभयो । काठमाडौँ ट्रियनियल पाँचौ संस्करणसम्म आइपुग्दा नेपाली कलालाई विश्वबजारमा चिनाउन सहयोग पुगेको उहाँले बताउनुभयो ।





