वालिङ (स्याङ्जा), ६ पुस |

स्याङ्जाको गल्याङ नगरपालिकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरेसँगै यहाँका किसान लाभान्वित भएका छन् । नगरपालिकाका ११ वटै वडाका गाउँगाउँमा जनप्रतिनिधिसहित कृषि प्राविधिक पुगेर प्राविधिक सेवा तथा परामर्श दिएका हुन् ।नगरप्रमुख गुरुप्रसाद भट्टराईका अनुसार गत असोजको अन्तिम सातादेखि सुरु भएको उक्त अभियान मङ्सिरको अन्तिम साता सकिएको हो । गाउँमा रहेका सामान्य किसानलाई पालिकाको कृषि र पशु शाखाको सेवा र सुविधासँग जोड्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।“गाउँमा कृषि कर्म गरेर बस्नुभएका किसानका समस्याको घरमै पुगेर समाधान गर्ने र उहाँहरुलाई नगरपालिकासँग जोड्नका लागि दुई महिनासम्म यो अभियान सञ्चालन गर्‍यौँ ।स्थानीयस्तरका कृषि कार्यक्रम तथा योजनामा सीमित वर्गका व्यक्तिको मात्रै पहुँच पुग्ने तर वास्तविक किसानको पहुँच नगरसम्म आई नपुगेकाले किसानसँग कृषि प्राविधिक कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख भट्टराईले बताउनुभयो । निर्वाहमुखी कृषि तथा पशुपालनलाई व्यावसायिकतातर्फ उन्मुख गराउन यसले सहयोग पुग्ने उहाँको विश्वास छ ।किसानका समस्या तथा गुनासा गाउँमै पुगेर टिपोट गरेकाले आगामी दिनमा नीति तथा कार्यक्रम बनाउँदा अझै प्रभावकारी हुने उपप्रमुख हेमा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार कृषकले गुणस्तरीय बीउबिजनमा पहुँच नभएको, निजी एग्रोभेटबाट प्राविधिकसहित बीउ र विषादीको भर पर्दै आइरहेको, खेतीपाती तथा पशुपालनबाट अपेक्षाकृत आम्दानी हुन नसकेको, बालीनाली बाँदरले क्षति पुर्‍याउने गरेकोलगायत गुनासा र समस्या जनप्रतिनिधिका साथै कृषि तथा पशु प्राविधिकमाझ राखेका थिए ।गाउँमै पुगेर कृषकका समस्या तथा गुनासो सुनेर उहाँहरुलाई प्राविधिक सहयोग तथा परामर्श प्रदान गरिएको पशु शाखा प्रमुख सुशील अर्यालले बताउनुभयो । नगरपालिका कार्यालयले किसानका समस्याको पहिचान गरी समाधान गर्नुकासाथै नियमित सम्पर्कमा राख्दै पहुँच विस्तारमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here