काठमाडौँ, २१ मङ्सिर |
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक ओहोदामा रहेका व्यक्तिको वैयक्तिक विवरण सार्वजनिक रहने गरी गोपनीयतासम्बन्धी कानुनमा संशोधनका लागि पहल गरिने बताउनुभएको छ ।राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन आज प्रधानमन्त्री निवास बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री दाहालले सुशासनका लागि सार्वजनिक पदमा रहेका व्यक्तिका व्यक्तिगत विवरण जनताले सूचनाका रुपमा पाउनसक्ने अवस्था बन्नु आवश्यक भएको बताउनुभएको हो ।आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङले प्रधानमन्त्री दाहाललाई आयोगको आव २०७९/८० को वार्षिक प्रतिवेदन हस्तान्तरण हो ।आयोगका आयुक्त रत्नप्रसाद मैनालीका अनुसार प्रधानमन्त्री दाहालले सूचनाको हकसम्बन्धी कानुनमा आवश्यक संशोधन गरी आयोगलाई स्रोत, साधनलाई प्रभावकारी बनाउन आफू सकारात्मक रहेको पनि विश्वास दिलाउनुभएको थियो । प्रतिवेदन हस्तान्तरण कार्यक्रममा आयुक्तद्वय कमला ओली थापा र मैनाली सहभागी हुनुभएको थियो । आयोगले प्रतिवेदन र सिफारिशबारे आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दैछ ।








