घोराही (दाङ), २१ मङ्सिर |

पैसठ्ठी वर्षीय जग्गुलाल चौधरी विगत लामो समयदेखि काठका मूर्ति बनाउने काम गर्दै आउनुभएको छ । घोराही उपमहानगरपालिका–५ ठूलो गाउँ धर्ना निवासी जग्गुलाल पाँच दशक बढी समयदेखि मूर्तिकलामा लाग्दै आउनुभएको छ ।सानोमा माटोका घोडा, हात्तीलगायत देवीदेवताका मूर्ति बनाउँदा बनाउँदै काष्ठकलामा लाग्नुभएका जग्गुलाल बाटो वा जङ्गलमा हिँड्दा राम्रो काठ देख्दा मूर्तिको आकृति मनमा आइहाल्ने गरेको बताउनुभयो ।यो बनाउँछु भनेर बन्दैन, काठ देखेपछि के बन्छ भनेर मनमा आउने गर्छ, अनि त्यहीअनुसार काठलाई छिना, बसुला र आरीले कुँदेर मूर्ति बनाउने गर्छु ।” अन्य काम छाडेर भए पनि आफू मूर्ति बनाउने काममा लाग्ने गरेको बताउने उहाँले पाँच दशकको अवधिमा थारु जातिका वेषभूषा, कला, संस्कृतिसँगै देवीदेवता, जनावर, चराचुरुङ्गीका धेरै मूर्ति बनाएर बिक्री गरेको बताउनुभयो । काष्ठकला क्षेत्रमा अब्बल मानिने जग्गुलाल सुरुका दिनमा खेलौनाका लागि माटोबाट मूर्ति बनाउने गर्नुहुन्थ्यो ।सुरुमा त के नमिले जस्तो लाग्थ्यो, तर पछि विस्तारै हात बस्यो, अहिले कसैले माग गर्याे भने त्यहीअनुसार मूर्ति बनाउन सक्छु ।” आफू थारु समुदायको भएकाले सानोमा चाडपर्व, विवाह लगायतका उत्सवमा घरका लागि आवश्यक स–साना माटाका मूर्ति बनाएर सिक्नुभएका जग्गुलालले पछि व्यावसायिक रूपमा मूर्ति बनाएको बताउनुभयो ।उहाँले घरको कमजोर आर्थिक अवस्थाका कारण मूर्ति बनाउने मात्र काम नगरेर घरको कामसँगै पेसामा लागेको बताउनुभयो । घरको कामसँगै बनाएका मूर्ति रु दुई हजारदेखि रु सात–आठ हजार मूल्यसम्ममा बिक्री हुने गरेको उहाँको भनाइ छ ।थारु समुदायसँग काठसम्बन्धी मूर्ति तथा चरा र सर्पसहितका वृद्ध मानिसले टेक्ने लट्ठी जिल्लाका विभिन्न ठाउँसँगै पोखरा, काठमाडाँैंलगायतसम्म बिक्री हुने गरेको उहाँले बताउनुभयो । वृद्ध उमेरमा टेक्नका लागि सजिलो र हेर्दा पनि आकर्षक देखिने भएकाले काठका लट्ठी धेरै बिक्री हुने गरेको बताउनुभयो । कतिपय आफूले बनाएका थारु जाति, कला, संस्कृतिसम्बन्धी मूर्ति घोराही–१७ पनौरामा रहेको थारु सांस्कृतिक सङ्ग्रहालयमा राखिएका छन् ।अहिले जस्तो पहिले मूर्ति बिक्छन् भन्ने थाहा पाएको भए धेरै मूर्ति बनाउने थिएँ, त्यो बेला काठका मूर्ति बिक्दैन थिए, त्यसैले महत्व पनि खासै थिएन, अहिले काठमा कुदिएका वा काठबाट बनाइएका मूर्तिको महत्व बढी भएर बिक्री पनि हुने गर्छ ।”जग्गुलालले यो अवधिमा करिब पाँच सय बढी मूर्ति बनाएर बिक्रीसँगै थारु सङ्ग्रहालय, मन्दिरलगायतका ठाउँमा दिएको बताउनुभयो । त्यसमध्येमा अधिकांश जनावर तथा चरा एवम् थारु जातिले लगाउने लुगा, बाघ, घोडा, थारु महिला आफ्ना वेषभूषामा सजिएका मूर्ति बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here