ललितपुर, १९ मङ्सिर |

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय ललितपुर महानगरपालिका–४ जावलाखेलमा निर्माण सुरु भएको छ । मच्छिन्द्रनाथको रथ यात्रा ललितपुरमा प्रत्येक वर्ष हुँदै आएको छ ।ललितपुरको अन्य जात्रामध्येमा सबैभन्दा लामो जात्राका रुपमा चिनिने रातो मच्छिन्द्रनाथको रथयात्रा, पात्रोअनुसार करिब दुई महिनासम्म सञ्चालन हुने गर्छ । ललितपुरको पुल्चोकबाट पाटनका विभिन्न स्थानमा रथयात्रा गरेपछि जावलाखेलमा भोटो देखाएपछि यो सम्पन्न हुन्छ । जावलाखेलमा करिब चार दिन रथ राखिने भएकाले जावलाखेलमै रातो मच्छिन्द्रनाथको सङ्ग्रहालय निर्माण हुन लागेको हो ।ललितपुर महानगरपालिका–४ का वडाअध्यक्ष सन्तोष खड्काका अनुसार ललितपुर महानगरपालिकाको रु ८५ लाखको लागतमा सङ्ग्रहालय निर्माण थालिएको हो । प्रदेश सरकारअन्तर्गतको पर्यटन मन्त्रालयले सङ्ग्रहालय निर्माण गर्न रु ४५ लाख प्रदान गर्ने सम्झौता भएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।सङ्ग्रहालय भवन दुई तलाको हुनेछ भने त्यसमा रातो मच्छिन्द्रनाथको जात्रासँग सम्बन्धित सामग्री राखिनेछन् । रातो मच्छिन्द्रनाथ जात्रासँग सम्बन्धित विभिन्न ऐतिहासिक सामग्री सङ्कलन गर्न सम्बन्धित निकायमा पत्रचार गरिएको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो ।रातो मच्छिन्द्रनाथको १२ वर्षे जात्रा र बर्सेनि सञ्चालन हुने जात्रामा प्रयोग गरिने रथको पाङ्ग्रा ललितपुरको जावलाखेलमा राखिने गरिएको छ । रथको पाङ्ग्रा राख्ने भवन जीर्ण अवस्थामा छ । धेरै वर्ष पहिलेदेखि प्रयोग गरिएको रथका पाङ्ग्राहरु घामपानीबाट जोगाउनका टहरमा राखिएको छ । हाल सङ्ग्रहालय निर्माण कार्य सुरु भएको ठाउँमा ऐतिहासिक पाटी रहेको ललितपुर महानगरपालिका–४ का वडासचिव ईश्वरीप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here