दमौली (तनहुँ), १५ मङ्सिर |
तनहुँ र चितवन जिल्ला जोड्ने ठिमुराको पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको छ । तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार र चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा जोड्ने त्रिशूलीनदीमाथिको पक्की पुल निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र बनेको हो । पटकपटक क्षतिग्रस्त भएको पुलको निर्माण अन्तिम चरणमा आएर रोकिएको छ । दुई सय २० मिटर लम्बाइ र ८.५ मिटर चौडाइ भएको उक्त पुल ढलान भइसकेर पनि पहुँचमार्ग तयार नभएको अवस्थामा अलपत्र अवस्थामा रहेको छ ।एक दशकअघिदेखि निर्माण सुरु भएको उक्त पुल समयमा निर्माण सम्पन्न नहुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । पुलको पहुँचमार्ग तयार नहुँदा पैदल हिँडडुल गर्नबाहेक सवारीसाधन गुडाउन मिल्दैन ।घिनाटार पक्कीपुल निर्माण उपभोक्ता समितिका संयोजक टङ्कनाथ पौडेलले उक्त पुल निर्माण नसके कानुनी बाटोमा अगाडि बढ्ने बताउनुभयो । उक्त पुललाई आगामी माघेसङ्क्रान्तिमा उद्घाटन गर्ने आफूहरुको योजना रहेको भन्दै पौडेलले त्यसअघि नै पुलमा यातायात सञ्चालन गर्ने गरी काम सम्पन्न गराउन ध्यानाकर्षण गराइएको बताउनुभयो । पुलको उपभोक्ता समितिको बुधबार बैठक बसेर पुल शीघ्र निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयमा ज्ञापनपत्र बुझाइएको उहाँको भनाइ छ ।
तनहुँको देवघाट गाउँपालिका–५ का वडाध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पूर्णबहादुर कुँवरले जतिसक्दो चाँडो पुलको आवश्यक संरचना तयार हुनुपर्ने बताउनुभयो । पुल निर्माणका लागि विसं २०७१ कात्तिक २० गते तीन वटा निर्माण कम्पनीसँग सम्झौता भएको थियो ।सम्झौताअनुसार तीन वर्षभित्र काम सम्पन्न हुनुपर्ने भए पनि काम नसकिएपछि पटकपटक म्याद थप भएको थियो । अन्तिम पटकका लागि विसं २०७८ असार १२ सम्म म्याद थप भएको थियो । त्यस अवधिमा पनि पुलको काम सम्पन्न हुन सकेको छैन । पुलको निर्माण लागत रु १९ करोड १० लाख रहेकामा अहिले बढेर रु २१ करोड ६८ लाख पुगेको सडक डिभिजन कार्यालयले जनाएको छ ।निर्माणका क्रममा दुई पटक उक्त पुल भत्किएको थियो । त्यसक्रममा तीन जना मजदुरले ज्यान गुमाएका थिए । पहिलो पटक विसं २०७७ चैत २४ गते पुल भत्किँदा मानवीय क्षति भएको थिएन । दोस्रो पटक विसं २०७८ वैशाख १२ गते पुल भत्किँदा काम गरिरहेका तीन जना मजदुरको नदीमा डुबेर मृत्यु भएको थियो ।








