गण्डकी, ७ मङ्सिर |

मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा आजदेखि पोखरामा ‘केपी ओली कप राष्ट्रिय टी-२० क्रिकेट’ प्रतियोगिता सुरु भएको छ । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतियोगिता उद्घाटन गर्दै नेपाल पनि क्रिकेटमा विश्वस्तरमा प्रतिष्पर्धा गर्न सक्ने अवस्थामा पुगेको बताउनुभयो ।खेल विकासका लागि पूर्वाधार निर्माणसँगै खेलाडीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उहाँले खेललाई व्यवसायिकरुपमा स्तरोन्नति गर्दै जानुपर्ने बताउनुभयो । खेलमा शारीरिक तथा मानसिक क्षमताको संयुक्त प्रदर्शन हुने बताउँदै अध्यक्ष ओलीले खेलबाट पहिचान र गरिमा बढाउन सकिने बताउनुभयो ।एमाले नेतृत्वको सरकारको समयमा दशरथ रङ्गशालादेखि देशका विभिन्न रंगशालाको निर्माण गरेको उहाँले सुनाउनुभयो । मदन भण्डारी फाउन्डेशनले खेलका माध्यमबाट राष्ट्रको गरिमा बढाउन गरेको सुरुवात प्रशंसनीय भएको उहाको भनाइ छ ।एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले खेलाडीले गर्ने उत्कृष्ट प्रदर्शनले देशको गरिमा बढ्ने बताउँदै खेल क्षेत्रको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । नेकपा एमाले नेतृत्वको सरकारका समयमा खेल क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताउनुभयो ।कार्यक्रममा मदनभण्डारी स्पोट्र्स एकेडेमीका अध्यक्ष ध्रुब आचार्य, उपाध्यक्ष राजेश गुरुङ लगायतले धारणा राख्नुभएको थियो । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा सञ्चालन हुने प्रतियोगितामा सात प्रदेशका सात टिम, विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरीको एपीएफ र आयोजक मदन भण्डारी एकेडेमीको दुई गरी १२ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।प्रतियोगिताको च्याम्पियन टोलीले रु पाँच लाख, सिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी उपविजेता टोलीलाई रु दुई लाख ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइने छ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी)को नियमानुसार खेलाइने प्रतियोगितामा ‘म्यान अफ द प्लेयर’ले नगद रु ३० हजार, ‘बेस्ट बलर’रु २० हजार, र ‘प्लेयर अफ द म्याच’ हुनेले नगद रु पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।‘सबैका लागि खेलकुद’ को नारा सहित विसं २०६६ पुस १७ गते एकेडेमीको स्थापना भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here