काठमाडौँ, ५ मङ्सिर |
नेपाली कांग्रेसका सांसद सीता मिजारको प्रतिनिधिसभामा प्रवेशसँगै परिपक्वताका साथै संवेदनशीलरूपमा प्रस्तुत हुने गरेको अनुभव छ । पहिलोपटक सङ्घीय सांसद बन्नुभएका उहाँले बाहिर सडकमा विद्यार्थी र पार्टीको राजनीति गरेभन्दा संसदीय राजनीति भिन्न भएको बताउनुभयो ।रासससँग कुरा गर्र्दै सांसद मिजारले भन्नुभयो, “संसदीय राजनीतिको अनुभव फरक रहेछ, विद्यार्थी राजनीति गरेको जस्तो होइन, जिम्मेवारीबोध धेरै हुने, बोल्दा पनि हरेक शब्द चयनमा संवेदनशील हुनुपर्ने । आमजनताले प्रत्यक्ष सुन्ने र हेर्ने भएकाले पनि यथार्थपरक र प्रमाणित कुरामात्र बोल्नुपर्ने रहेछ ।” विसं २०४४ असार ७ गते नुवाकोटमा जन्मनुभएका उहाँले विद्यार्थी राजनीतिमा सडकमा नारा लगाएजस्तो संसद्मा नहुने बताउनुभयो । सांसदको प्रस्तुति राज्यले सुन्ने र जनताले पत्याउने खालको हुनुपर्ने उहाँले सुझाउनुभयो ।सोह्र वर्षको उमेरमै पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी सङ्घको एकाइ सदस्य हुनुभएका सांसद मिजारले संसद्मा उठाएका विषय कार्यान्वयनका लागि निरन्तर सक्रियताका साथ लागिरहनुपर्ने उल्लेख गर्नुभयो । “संसद्मा बोलेका कुरा सुनुवाइ हुन्छन्, तर ‘फलोअप’ गर्नुपर्छ ।
आफूले युवा र दलित र अल्पसङ्ख्यक समुदायका मुद्दालाई सदैव प्राथमिकताका साथ उठाउने गरेको उल्लेख गर्दै सांसद मिजारले राज्यले भने यी मुद्दामा अझै प्राथमिकता दिन नसकेको गुनासो गर्नुभयो । सदनमा सांसदहरूले बोल्दा कतिपय अवस्थामा कुनै समुदाय र लैङ्गिक विशेषलाई चोट पुग्ने शब्द चयन गर्ने गरेको र बोल्दा सामान्य हेक्कासमेत नराख्ने गरेको उहाँको भनाइ छ ।फरक प्रसङ्गमा सांसद मिजारले संसद्मा कुनै मुद्दा उठेपछि वा कुनै विधेयकका सम्बन्धमा सबै पार्टीका र स्वतन्त्र सांसदले अनिवार्य बोल्नैपर्ने, कतिपय अवस्थामा विषयवस्तुभन्दा बाहिर बोल्ने प्रचलनले गर्दा पनि संसदीय प्रक्रिया लम्बिने गरेको उल्लेख गर्नुभयो । “संसद्को लामो प्रक्रियाका कारण कानुन बन्न ढिलाइ हुने गरेको छ, यस्ता नियमित विषय संसदीय समितिमार्फत बृहत् छलफल गर्दा राम्रो हुन्छ।साना विषयमा पनि विपक्षी दलले सदन अवरोध गर्ने र सरकारले पर्याप्त बिजनेस दिन नसकेकाले पनि सदनले पर्याप्त काम गर्न नसकेको उहाँको बुझाइ छ । आगामी दिनमा यसतर्फ राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गर्नुभएका उहाँले मुलुकका भ्रष्टाचारका प्रकरण र अनियमितताका विषयमा सत्य, तथ्य छानबिन गरी त्यसमा संलग्न दोषीलाई जो–केही भए पनि कारबाहीको दायरामा ल्याउन सबै दल एकजुट हुनुपर्ने सुझाव दिनुभयो ।
सबै राजनीतिक नेतृत्व पार्टीगत धारणाभन्दा माथि उठेर मुलुकलाई समृद्धि बनाउनेतर्फ केन्द्रित हुनुपर्दछ । मुलुकको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा, देश र जनताको समृद्धिमा सबै दल एक ठाउँमा उभिनैपर्छ ।सांसदको प्रमुख काम कानुन निर्माण भए पनि जनताको अपेक्षा र जनताबीच गरेका वाचा पूरा गर्न पनि सांसदले केही विकास निर्माणका काममा लाग्नुपर्ने बाध्यता रहेको उहाँको तर्क छ । नेविसङ्घको जिल्ला सदस्य हुँदै पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको सदस्य हुनुभएका उहाँसँग तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी सचिवालयमा काम गरेको अनुभवसमेत छ ।केही दलका सांसदले सदनमा सस्तो लोकप्रियताका लागि गर्ने ‘प्रोपोगाण्डा’का सन्दर्भमा सांसद मिजारले आन्दोलनका क्रममा माहोल बनाउन र जनता परिचालन गर्न बोलेको विषयसँग तुलना गर्दै गर्नुभयो । उहाँले संसद्को मर्यादाका लागि सांसदहरूले विषयवस्तुमा आधारित रहेर सन्दर्भ र यथार्थपरकरूपमा बोल्नुुपर्ने सुझाव दिनुभयो ।विसं २०६२–६३ को आन्दोलनका घाइतेसमेत हुनुभएका उहाँले जनताका प्रतिनिधिको सर्वोच्च थलो संसद्मा अनुशासित र संयमित भएर सांसदहरूले छलफलमा भाग लिनुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले संसद्लाई प्रभावकारी बनाउन सांसदहरूले संयमरूपमा प्रस्तुत हुनुपर्ने, नैतिकवान बन्नुपर्ने र सरकारले पनि पर्याप्त बिजनेस र महत्व दिनुपर्ने सुझाव दिनुभयो ।






