नवलपुर, ४ कात्तिक :

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकास्थित विकट पहाडी गाउँमा घरघरमै पुगेर लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । गैँडाकोटका नगर प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारी सहितको टोलीले आफ्ना वडाका सम्पूर्ण लाभग्राहीलाई घरघरमै पुगेर सामाजिक सुरक्षा वितरण गरेको हो ।वडा कार्यालयले चालु आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिकको सामाजिक सुरक्षा घरमै पुगेर लाभग्राहीलाई प्रदान गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताउनुभयो । तिवारीले भन्नुभयो, “नगरपालिकाले एकमुष्ट लाभग्राहीको व्यक्तिगत खातामा रकम जम्मा गरिदिन्छ, भूगोलका कारण वृद्ध बाआमालाई हिँडेर बैंकसम्म पुग्न समस्या हुन्छ । त्यसैले हामीले सहजीकरण गरेर सबैको पैसा घरमा नै पुर्‍याएका हौँ ।” नगरपालिकाले सबैको खातामा पैसा हालिदिएपछि लाभग्राहीको घरमा पुगेर चेक जम्मा गरेर वडा कार्यालयले बैंकमा पुगेर सबैको रकम एकमुष्ट साटेर लाभग्राहीको हातमा दिएको वडाध्यक्ष तिवारीले बताउनुभयो ।

बैङ्किङ पद्धतिबाट पैसा आउने गरेको भन्दै वडाध्यक्ष तिवारीले भूगोलका कारण लाभग्राहीलाई बैङ्कसम्म पुग्न कठिन हुने भएकाले आफूहरुले सहयोग गरेको बताउनुभयो । “हाम्रो वडाबाट एकपटक भत्ता बुझ्न जाँदा प्रतिव्यक्ति तीन हजार रुपैयाँसम्म खर्च हुने बाटो छ ।”मैले मेरो पहिलो कार्यकालदेखि नै सामाजिक सुरक्षा भत्ता घरघरमा पुर्‍याउँदै आएको छु । हामी वडाका सबै जनप्रतिनिधि मिलेर सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन्छौँ ।” वडामा रहेका दुई सय २२ घरधुरीका लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता घरमै लगेर दिन लागेको उल्लेख गर्दै उहाँले सबैको रकम जोड्दा करिब रु २२ लाख हुने उहाँले बताउनुभयो ।वडा कार्यालयबाट घरघरमै पुगेर सामाजिक सुरक्षा भत्ता दिँदा लाभग्राहीसमेत खुसी छन् । ९० वर्षीय सानुमाया सुनारले दिनभरि हिँडेर लाइनमा बसेर भत्ता बुझ्नै समस्या हुने गरेकामा वडा कार्यालयले घरमै लगेर दिँदा आफूहरुलाई सहज भएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here