काठमाडौँ, १८ असोज |

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको उपचारमा सक्रिय स्वास्थ्यकर्मीको पेसागत सुरक्षा, हित र वृत्तिविकासमा सरकार सचेत र गम्भीर रहेको बताउनुभएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको चौँथो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले बिरामीको उपचारमा क्रियाशील स्वास्थ्यकर्मीमाथि भइरहेका शृङ्खलाबद्ध आक्रमणलाई आफूले गम्भीर रूपमा लिएको बताउनुभयो ।“यसबारे सरकारले स्वास्थ्यकर्मीसँग संवाद गरी आवश्यक कानुनी प्रबन्ध गर्ने सहमति र सोअनुरूपको गृहकार्य गरिसकेको छ।”प्रधानमन्त्री दाहालले पूर्ण भरोसा र आत्मविश्वासका साथ बिरामीको उपचारमा सक्रिय रहन चिकित्सकलाई आह्वान गर्नुभयो । उहाँले नेपाल सरकार स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्न, उत्पादित जनशक्तिको रोजगारीको सुनिश्चितता, पेसागत हित र आधारभूत स्वास्थ्य सेवाको नागरिक हकप्रति प्रतिवद्ध रहेको स्पष्ट पार्नुभयो ।हरेक लोकतान्त्रिक देश र प्रणालीमा राज्य नागरिकको वास्तविक अभिभावक र संरक्षक रहेको उल्लेख गर्दै उहाँले राज्यका सम्पूर्ण अङ्गले नियन्त्रणमुखी नभई प्रवद्र्धनमुखी र सेवामुखी भएर काम गर्न जरूरी रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले चिकित्सा विज्ञानको क्षेत्रमा उच्चस्तरीय अध्ययन र अनुसन्धानको व्यवस्था गरी दक्ष जनशक्ति उत्पादन एवं आम नागरिकलाई सस्तो र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरिएको बताउनुभयो ।

“वीर अस्पताल नेपालको सबैभन्दा पुरानो तथा ठूलो अस्पतालमध्येको एक हो, राष्ट्रिय ट्रमा सेन्ट्रर र नर्सिङ क्याम्पस तथा प्रतिष्ठानको उपत्यका र बाहिरका अस्पतालमा समेत विस्तारित रूपमा उच्चस्तरका अध्यापन हुनुले स्वास्थ्य सेवामा गुणात्मक र सङ्ख्यात्मक रूपमा फड्को मार्नेछ ।प्रतिष्ठानका कुलपति दाहालले स्वास्थ्य क्षेत्रमा नेपालकै पुरानो र भरपर्दो तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)लाई अझै विस्तार र सुविधासम्पन्न बनाउन सरकारले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नर्सिङ सेवासँग सम्बन्धित जटिलताहरू सम्बोधन गर्न सरकारले आवश्यक पहल लिने विश्वाससमेत दिलाउनुभयो ।नेपालको संविधानले स्वास्थ्यसम्बन्धी हकलाई मौलिक हकका रूपमा परिभाषित गर्दै जनताको निःशुल्क स्वास्थ्य सेवाको अधिकार सुनिश्चित गरेको स्मरण गर्दै प्रधानमन्त्री दाहालले गरिब र बिपन्नका लागि सबैखाले अस्पतालले १० प्रतिशत निःशुःल्क शय्या तथा सङ्घीय अस्पताल र चिकित्सा विज्ञान प्रतिष्ठानमा तीन हजार पाँच सय २३ शय्या निःशुल्क गरिएको जानकारी दिनुभयो । संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकको कार्यान्वयनका लागि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जस्ता सरकारी संरचनाको भूमिका सबैभन्दा महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।दीक्षित विद्यार्थीले आर्जन गरेको ज्ञान, सीप र दक्षताले देशको स्वास्थ्य क्षेत्रमा गुणात्मक प्रगति हासिल गर्नका निम्ति महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै उहाँले दीक्षित दक्ष र ऊर्जाशील प्राविधिक जनशक्तिबाट देशको दूरदराजसम्मका जनताले सहज र स्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने बताउनुभयो । कार्यक्रममा सुविधासम्पन्न, पुरानो र स्तरीय जनशक्तिको प्रत्यक्ष सुपरीवेक्षणमा रहेर सैद्घान्तिक र व्यवहारिक ज्ञान प्राप्त गरेका स्नातकोत्तर र स्नातक तहका पाँच सय ४१ जनालाई दीक्षित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here