काठमाडौं,१४,असोज ।
सुन तस्करीबारे छानबिन गर्न बनाइने जाँचबुझ आयोगको कार्यादेशमा दलहरुबीच सहमति जुटेको छ । आजै आयोग बन्ने नेताहरुले बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ६ दलका शीर्ष नेताहरुको बैठकमा उच्चस्तरीय जाँचबुझ आयोगलाई भेप, ब्रेक सुमा लगाएर ल्याएको सुनलगायत पटकपटक भएको सुन तस्करीबारे भएको छानबिनको अध्ययन गर्ने र तस्करीको प्रकृति, सुनको परिमाण, अपराधको दायरा र यसमा संलग्न व्यक्तिका सन्दर्भमा थप छानबिन कार्यादेश दिने सहमति जुटेको हो ।भेप र ब्रेक शुमा लगाएर ल्याएको सुनलाई लिएर प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार संसद अवरुद्ध गरेपछि ६ भदौमा जाँचबुझ आयोग बनाउने सहमति भएको थियो ।त्यसबेला ब्रेक शुमा लुकाएर भएको सुन तस्करीबारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरिरहेको अनुसन्धान सकिए लगतै ५ असोजमा आयोग बनाउने सहमति भएको थियो । तर ५ असोजमा आयोगको कार्यादेशमा सहमति जुट्न सकेन ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनबाट फर्किएको भोलिपल्ट एमाले नेताहरुसँग छलफल गरेका थिए । छलफलका लागि एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेल र एमाले संसदीय दलका नेता महेश बर्तौला बालुवाटार पुगेका थिए कांग्रेस उपसभापति समेत रहेका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको पनि सहभागिता थियो ।एमाले नेतृत्वसँग भएको छलफल सकारात्मक भएपछि प्रधानमन्त्री प्रच्ण्डले राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठक बोलाए, जसले आयोगको कार्यादेश टुंगो लगाएको छ ।मन्त्रिपरिषद्को आजै बस्ने बैठकले उच्च अदालतका पूर्व न्यायाधीशको नेतृत्वमा तीन सदस्यीय आयोग बनाउने नेताहरुले बताएका छन् ।








