काठमाडौँ, १२ असोज |

पशुबाट मानव तथा मानवबाट पशुमा सर्ने विभिन्न रोगका सम्बन्धमा भइरहेको अनुसन्धान र नियन्त्रणका लागि चाल्नुपर्ने कदमका बारेमा नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ क्षेत्रका विज्ञले छलफल थालेका छन् । नेपाल र भारतका भेटेरिनरी पब्लिक हेल्थ एशोसिययको संयुक्त आयोजनामा आजदेखि राजधानीमा पहिलो अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको छ ।सम्मेलनमा खाद्य सुरक्षा, सार्वजनिक स्वास्थ्य, पशुस्वाथ्यलगायत क्षेत्रमा भइरहेका अनुसन्धान, त्यसले ल्याएको नतिजा, आगामी दिनमा चाल्नुपर्ने कदमलगायत विषयमा छलफल हुने भेटेरिनरी पब्लिक हेल्थ एशोसियसन नेपालका अध्यक्ष डा मुकुल उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनमा नेपाल र भारतका करिब एक सय ५० विज्ञको सहभागिता छ । सम्मेलनका क्रममा ५० भन्दाबढी कार्यपत्र प्रस्तुत हुनेछ ।छलफलको निष्कर्ष नेपाल र भारतका सरकारलाई बुझाउने डा उपाध्यायाको भनाइ छ । राष्ट्रिय भेटेरिनरी सेवालाई सवलीकरण गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको उहाँले बताउनुभयो । “धेरै रोग पशुबाट मानवमा र मानवबाट पशुमा सर्ने पाइएको छ । यसलाई नियन्त्रण गर्न एक देशले मात्रै नसक्ने भएकाले क्षेत्रीय प्रयासको खाँचो आवश्यक छ ।सम्मेलनका क्रममा दक्षिण एसिया क्षेत्रमा पशुबाट मानवमा सर्ने रोग, त्यसको नियन्त्रण तथा त्यस्ता रोगका सम्बन्धमा भएका अनुसन्धानलगायत विषयमा छलफल हुनेछ । सम्मेलनमा भारतका विभिन्न विश्वविद्यालयका प्राध्यापक, डिन, उपकुलपतिलगायतको सहभागिता रहेको छ ।सम्मेलनको उद्घाटन गर्दै उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पशु चिकित्सकको ज्ञान र सीपलाई सार्वजनिक स्वास्थ्य र खाद्यसुरक्षालगायत क्षेत्रमा केन्द्रित गर्नुपर्ने बताउनुभयो । जुनेटिक (जनावरबाट मानिसमा र मानिसबाट जनावरमा सजिलैसँग सर्न सक्ने रोग) र अन्य सङ्क्रामक रोगको नियन्त्रण तथा खाद्य सुरक्षामा जनस्वास्थ्य र पशुचिकित्सा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले जनस्वास्थ्य क्षेत्रलाई सबल बनाउन सरकार गम्भीर रहेको बताउनुभयो ।सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले भेटेरिनरी क्षेत्रको अध्ययन अनुसन्धानमा सक्रिय व्यक्तित्वलाई सम्मान गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here