काठमाडौँ, १० असोज |

आजदेखि भृकुटीमण्डपमा फर्निचर प्रदर्शनी तथा मेला (फर्निचर एन्ड फर्निसिङ एक्स्पो २०२३) सुरु भएको छ । नेपाल फर्निचर तथा फर्निसिङ सङ्घले आयोजना गरेको नवौँ संस्करणको एक्स्पोको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उद्घाटन गर्नुभएको हो ।एक्स्पो उद्घाटन गर्नुहुँदै मन्त्री रिजालले यस व्यवसायमा भएको लगानी तथा सिर्जना गरेको रोजगारी र सरकारको राजस्वमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । तर अहिले पनि फर्निचर क्षेत्रको आधाभन्दा बढी माग आयातित सामग्रीबाट पूर्ति गर्नुपरेको उल्लेख गर्दै मन्त्री रिजालले यो अवस्थालाई परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो ।“सरकारले आन्तरिक उत्पादन बढाउने, आयात घटाउने र निर्यात प्रवद्र्धन गर्ने नीतिलाई प्राथमिकता दिँदै आएको छ । हाम्रो मौलिक कला संस्कृति झल्किने र स्थानीय कच्चा पदार्थमा आधारित हस्तकलाका सामानको निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ । देशभित्रै प्रसस्त सम्भावना र स्रोत हुँदाहुँदै पनि विभिन्न खालका काठ र काठजन्य सामग्री बाहिरबाट आयात हुनु मुलुकको अर्थतन्त्रका लागि सुखद् विषय नरहेको उहाँको भनाइ छ ।

नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै स्वदेशमै उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्देश्यका साथ आयोजना भएको प्रदर्शनी पाँच दिनसम्मे चल्ने आयोजकले जनाएको छ ।एक्स्पोमा फर्निचर तथा फर्निसिङ सामग्री बिक्रेता, उत्पादक, आयातकर्ता, वितरक, मेसिनरी तथा प्रविधि हस्तान्तरण, डिलर व्यवसायीलगायत सयभन्दा बढी स्टल प्रदर्शनीमा राखिएका छन् । नेपालमा उत्पादित फर्निचर सामग्रीलाई प्रवद्र्धन तथा बजारीकरण गर्नु प्रदर्शनीको मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ । प्रदर्शनीस्थलमा सामान खरिद गर्नका लागि खुला बजार पनि सञ्चालन हुनेछ भने प्रवेश निःशुल्क गरिएको छ ।पचास हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त ब्रान्डको सहभागिता रहनेछ । प्रदर्शनीस्थलमा वास्तु तथा इन्टेरियर डिजाइनका लागि विशेष परामर्श सेवा पनि उपलब्ध हुनेछ आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here