काठमाडौँ, ३ ,असोज |
नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले संविधान प्रभावकारीरुपमा कार्यन्वयन गर्नुपर्ने बताउनुभएको छ ।एमालेले संविधान दिवसका अवसरमा आज नारायणचौरमा आयोजना गरेको विशेष कार्यक्रममा उहाँले संविधानको प्रभावकारी कार्यान्वयन गर्दै देशमा शान्ति, सुरक्षा, सामाजिक न्याय, समानता र राष्ट्रिय एकता कायम गर्नुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले उपलब्धिलाई समाप्त पार्न छिटपुटरूपमा प्रयास भइरहेका उल्लेख गर्नुभयो ।“कहीँकतै हाम्रा उपलब्धिलाई समाप्त पार्न खोज्ने अभिव्यक्ति, क्रियाकलाप छिटपुटरूपमा हुने गरेका देखिएका छन्”, उहाँले भन्नुभयो, “त्यस्ता क्रियाकलापप्रति म दुःख व्यक्त गर्न चाहन्छु । राष्ट्रिय एकतालाई खल्बल्याउने खालका कुरा सकारात्मक हुन सक्दैनन् ।”अध्यक्ष ओलीले देशको उन्नति तथा जनताको एकताका लागि विभाजनकारी प्रवृत्ति र जनतामा फाटो ल्याउने प्रवृत्ति, राष्टिय एकतामा खलल पुर्याउने प्रवृत्ति कुनै राजनीतिक मतभावको हिसाबले गरिने त्यस्ता खालका क्रियाकलाप राष्ट्रिय एकताको पक्षमा नभएको उल्लेख गर्दै एकतालाई कमजोर पार्न नहुने विचार व्यक्त गर्नुभयो । नेपाली जनताले आफ्नो उद्देश्य, बाटो बिर्सन नहुने र एकतालाई कमजोर हुन दिन नहुने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले दिवसले एकताको सन्देश दिएको भन्दै आगामी वर्षमा दिवसलाई राष्ट्रियस्तरमा मनाइने बताउनुभयो ।“राष्ट्रिय एकताका साथ सिङ्गो देश एकजुट भएर राष्ट्रका लागि सही बाटोमा अगाडि बढाँै भन्ने दिवसले आग्रह गर्दछ”, उहाँले भन्नुभयो । संविधान दिवस एउटा पार्टी, जाति विशेषको नभई सम्पूर्ण जनताको साझा उपलब्धि र सिङ्गो राष्ट्रको राष्ट्रिय दिवस भएको उहाँले बताउनुभयो |कार्यक्रममा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत नेतासमेत सहभागी हुनुहुन्थ्यो ।








