काठमाडौँ, २ असोज  |

राष्ट्रकवि माधवप्रसाद घिमिरेका स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ ।मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानका संरक्षक राष्ट्रकविका स्मृतिमा उहाँकी धर्मपत्नी महाकाली घिमिरेले रु १६ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । प्रतिष्ठानको नाममा अक्षयकोष रहने गरी उक्त रकम सोमबार प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेलाई हस्तान्तरण गरिएको छ ।हस्तान्तरण कार्यक्रममा राष्ट्रकविको सुपुत्रद्वय इन्दिवर र राजीव घिमिरे तथा प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष भाग्यशाली अधिकारी, महासचिव श्रीकृष्ण न्यौपाने, कोषाध्यक्ष लक्ष्मण थापा र सदस्य यामबहादुर दुरालगायतको सहभागिता रहेको थियो ।

उक्त अक्षयकोषबाट आउने ब्याजबाट वार्षिक एक जना साहित्यकारलाई रु एक लाख राशिको ‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’समेत प्रदान गरिने भएको छ । उक्त पुरस्कार नेपालको भाषा, साहित्य, कविता, काव्य, गीत, गीतिनाटक, महाकाव्य, निबन्ध, समालोचनालगायतको क्षेत्रमा उत्कृष्ट योगदान दिएका व्यक्तिलाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।पुरस्कार वितरणका लागि प्रतिष्ठानले तीन सदस्यीय समिति गठन गर्ने भएको छ । उक्त टोलीले सिफारिस गरेको व्यक्तिलाई राष्ट्रकविको जन्मजयन्तीको अवसर पारेर हरेक वर्ष असोज ७ गते सो पुरस्कार वितरण गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here