दमौली (तनहुँ), १ असोज |

कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो ।डुम्रे सांस्कृतिक एवं सामाजिक संरक्षण समितिको आयोजनामा भएको प्रतियोगितामा ऋषिङ गाउँपालिका–१ स्थित झापुटार युवा क्लव प्रथम भएको छ । प्रतियोगितामा बन्दीपुरको छपेली युवा क्लव द्वितीय र बन्दीपुरकै कोरिखा युवा क्लव तृतीय भएका छन् ।प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु २५ हजार पाँच सय ५५, सात हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा पाँच वटा समूहको सहभागिता थियो ।संस्कार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित कौरा नृत्य प्रतियोगिता आयोजना गरिएको समितिका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “कौरा नृत्य तनहुँको चिनारी हो । यसको संरक्षण गर्दै अहिलेको पुस्तालाई यसमा आकर्षित गराउनु कार्यक्रमको मुख्य उद्देश्य थियो ।”विजयीलाई पुरस्कृत गर्दै वरिष्ठ लोक गायक प्रेमराजा महतले संस्कार र संस्कृति जोगाउनु सबैको कर्तव्य भएको बताउनुभयो । समितिकै आयोजनामा शनिबार डुम्रेमा लाखे नाच प्रतियोगिता सम्पन्न भइसकेको छ । पछिल्लो समय लाखे नाच लोप हुँदै गएपछि समितिले लाखे नाच प्रतियोगिता गरेको थियो ।प्रतियोगितामा भक्तपुरको विश्वकर्मा लाखे च्वांख प्रथम हुन सफल भएको छ । कूल ३१ समूह सहभागी प्रतियोगितामा तनहुँको डुम्रेस्थित झिङ्गु नेवा पुचः द्वितीय, बन्दीपुरको खड्कमाइ सांस्कृतिक समूह तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुनेले क्रमशः रु ४० हजार पाँच सय ५५, रु २० हजार पाँच सय ५५ र रु पाँच हजार पाँच सय ५५ नगद पुरस्कार प्राप्त गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here