खप्तड (बझाङ), ३० भदौ |

खप्तड छेडेदह गाउँपालिका–१ काँडाका धनबहादुर रावलले खप्तडमा अस्थायी गोठ बनाएर बस्न थालेको तीन दशक भइसक्यो । वर्खायाममा राष्ट्रिय निकुञ्जले पुर्जी दिएपछि बस्तुभाउ चरिचराउनका लागि दिने तीन महिने समयमा उहाँको बसाई खप्तडमै हुन्छ ।खप्तडमा रहँदा रावलको उपचारको सहारा भएको छ त्यहाँको आर्मी मेडिकल । त्यो मेडिकलमा रावलले आफू मात्रै नभएर आफन्तको उपचारसमेत गराउँदै आउनुभएको छ । गाउँबाट बिरामी भएर आएका आफन्तको सेनाको निःशुल्क मेडिकलमा धेरै पटक उपचार गराएको उहाँ सम्झिनुहुन्छ ।सानोतिनो उपचारका लागि भने गाउँले समेत यतै आउनुहुन्छ । अहिले त नजिकैका स्वास्थ्य संस्थाको पनि भर लाग्दैन । खप्तडमा उपचार गराउनु र जिल्ला अस्पतालसम्म पुग्नु एउटै लाग्छ ।”अझै जिल्ला अस्पतालमा खर्च लाग्ने र सेनाको मेडिकलमा निःशुल्क हुने गरेको उहाँले बताउनुभयो । रावलको जस्तै उपचारप्रति प्रेम छ, खप्तडछान्ना गाउँपालिका–६ का जगत थापाको । उहाँ पनि बिरामी पर्दा खप्तडकै बाटो लाग्नुहुन्छ । “खप्तड हुँदा जुन बेलामा पनि उपचारका लागि ब्यारेकै जान्थे । यसपटक भने घरै भएर पनि औषधिका लागि खप्तड गए ।” उहाँका अनुसार खप्तडमा बिरामी चेकजाँच र औषधीको मात्रा मिलाएर दिने हुँदा स्वास्थ्य चौकीभन्दा आर्मी मेडिकल सहज लाग्छ ।खप्तडमा मेडिकलमा मात्रै नभएर मेला पर्वमा समेत सयौँले उपचार पाउँछन् । खप्तडमा रहेको श्री सिंह शार्दूल गुल्मले मेडिकल क्याम्प सञ्चालन गरेर तीर्थालु भक्तजनको उपचार गर्दै आएको छ ।मध्यवर्ती क्षेत्र आसपासका स्थानीय त मेला पर्वको साइत जुराएर उपचारका लागिसमेत आउने गरेका छन् । खप्तडछान्ना गाउँपालिका–३ बझाङकी सिद्धा रोकायाले मेला हेर्ने मौका छोपेर उपचारका लागि आएको बताउनुभयो । उहाँले अघिपछि समय नमिल्ने हुँदा मेलाको समयमा आएर चेकजाँज गराएको बताउनुभयो । “गत वर्ष पनि आएकी हुँ, त्यो बेलाको औषधिले धेरै काम ग¥यो । यसपटक पनि डाक्टरले चेकजाँच गरेर औषधि दिनुभएको छ । समस्या भए फेरि आउनु भन्नुभएको छ ।” उहाँले बताउनुभयो ।गङ्गादशहरा मेला, खापरदह मेलाको उकालु र ओरालुमा समेत गुल्मले निःशुल्क उपचार गरिरहेको गुल्मपति पुरुषोत्तम कार्कीले बताउनुभयो । उहाँका अनुसार गत साता मात्रै गुल्मबाट खटिएका मेडिकल टोलीले खापरदह मेलामा दुई दिने मेडिकल क्याम्प सञ्चालन गरेर एक सय ४० जनाको उपचार गरे ।सेनाले तीर्थालुको स्वास्थ्योपचारसँगै खापर दह इलाकामा रहेको मन्दिर, ट्रष्टघर, धार्मिक ईलाकाहरूको सरसफाइसहित मेला नजिक अस्थायी शौचालयसमेत निर्माण गरेको गुल्मपति कार्कीले बताउनुभयो । खप्तडमा रहेको आर्मी मेडिकल मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि मात्रै नभई खप्तड भ्रमणमा आउने पर्यटक, गोठाला, तीर्थालु भक्तजन सबैका लागि निकै ओखती बनेको खप्तडमा होटल सञ्चालन गर्दै आउनुभएका धर्मराज रोकायाले बताउनुभयो । उहाँले भन्नुभयो, “खप्तडमा आर्मीको मेडिकल नहुने हो भने धेरै मान्छे आउने थिएनन् ।” मेडिकल भएकै कारण अहिलेसम्म हजारौँ मान्छेलाई राहत पुगेको उहाँले बताउनुभयो ।खप्तड अग्लो ठाउँमा र धेरै हिँड्नुपर्ने भएको हुँदा यहाँ लेक लाग्ने समस्याले आउने बिरामी धेरै छन् ।” अन्य स्वास्थ्य समस्या भएका बिरामी पनि दैनिकजसो आउने गरेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here