जुम्ला, २७ भदौ |

सिञ्जा गाउँपालिकामा रहेको इलाका प्रशासन कार्यालय नराकोटमा कर्मचारी नहुँदा नागरिकता वितरण कार्य ठप्प भएको छ ।कार्यालयमा कर्मचारीको अभाव हँुदा नागरिकता वितरण कार्य बन्द हुँदा सेवाग्राहीलाई सास्ती भएको छ । इलाका प्रशासन कार्यालयमा नागरिकता दिने कर्मचारी सरुवा भएर अर्को ठाउँ गएपछि नागरिकता वितरण कार्य बन्द भएको हो ।सिञ्जा क्षेत्रमा पर्ने हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकालाई लक्षित गरी स्थापना गरिएको इलाका प्रशासन कार्यालयले नागरिकता वितरण गर्दै आएको थियो । यहाँका नागरिकलाई नागरिकता लिने निकै सहज हुने गरेको थियो । अहिले सो सेवा बन्द हुँदा नागरिकहरुलाई फेरि दुःख भएको स्थानीयवासी दलसिंह रोकायाले जानकारी दिनुभयो ।इलाका प्रशासनमा नागरिकता लिने मानिस गइरहे पनि कर्मचारी नभएको भन्दै फर्किने गरेका छन् । इलाका प्रशासन कार्यालयमा केही दिनदेखि कार्यालय प्रमुख नहुँदा सेवा लिन आएका सेवाग्राही सेवा नलिएर घर पर्किने गरेको सिञ्जाका स्थानीयवासी बताउँछन् ।प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेका अनुसार हप्ता, दश दिनअगाडि त्यहाँ निमित्तका रुपमा खटाइएका नायब सुब्बा सुरत गिरीको अर्को ठाउँ सरुवा भएपछि अरू कर्मचारीको खोजी भइरहेको छ । आफूले त्यहाँको कर्मचारी व्यस्थापन गरिदिन भनी गृह मन्त्रालयमा माग गरिसकिएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।इलाका प्रशासन कार्यालयमा कर्मचारीको व्यवस्था नहुँदासम्म जिल्ला सदरमुकाम खलङ्गाबाटै नागरिकताको सेवा प्रवाह लिन सकिने प्रजिअ घिमिरेको भनाइ छ । इलाका प्रशासन कार्यालयमा अधिकृतस्तरको दरबन्दी रहे पनि पदपूर्ति हुन सकेको छैन । मन्त्रालयले दरबन्दीअनुसार कर्मचारी नपठाउँदा पाँच वर्षदेखि नायब सुब्बालाई निमित्त प्रमुखको जिम्मेवारी दिएर काम गर्दै आएको प्रशासन कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here