टक्सार (भोजपुर) १९ भदौ |

भोजपुरको टक्सार बजार धार्मिक तथा सांस्कृतिक हिसाबले ऐतिहासिक बजार हो । विसं १८७२ मा गीर्वाणयुद्ध विक्रम शाहको पालामा स्थापित टक्सार बजार धातु व्यवसायका लागि पनि पूर्वमा त्यतिकै प्रख्यात ठाउँ मानिन्छ ।टक्सारको भाषा, धर्म, संस्कार र संस्कृति संरक्षणका लागि प्रत्येक वर्ष लाग्दै आएको श्रीकृष्ण जन्माष्टमी मेला यस वर्ष पनि आयोजना हुने भएको छ । टक्सार बजारलाई ‘मिनी पाटन’समेत भनिन्छ । यहाँ उपत्यकाको नेवारी सहर पाटनको स्वरूपमा सहर विकास गरिएको थियो । यहाँ कृष्ण मन्दिर, विहार, चैत्य, गुम्बा लगायतका दर्जनौँ धार्मिकस्थल छन् ।सामाजिक, धार्मिक, सांस्कृतिक र आर्थिक केन्द्रका रूपमा स्थापित टक्सार बजार पछिल्लो समय जीर्ण बन्दै गएको स्थानीय सानुकाजी शाक्यको भनाइ छ । टक्सार ऐतिहासिक तथा धार्मिकस्थल हो । यसको संरक्षण र संवद्र्धनसहित परम्परासमेत जोगाउन जरुरी रहेको वडा नं १२ का वडाध्यक्ष देवीप्रसाद कार्कीले बताउनुभयो । धार्मिक पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक टक्सार बजार जाऔँ’ भन्ने नाराका साथ आयोजना गरिएको मेलामा विभिन्न जातजातिका झाँकी प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, विभिन्न समूहको लाखे नाच प्रदर्शन, श्रीकृष्ण रथयात्रा जस्ता कार्यक्रम हुने स्थानीय अमृका ताम्राकारले जानकारी दिनुभयो । टक्सार ऐतिहासिकस्थल भएकाले यसको संरक्षण र संवद्र्धनका लागि पनि सरकारी तहबाट चासो देखिनुपर्ने स्थानीय विमल रणपहेलीको भनाइ छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोजपुर सदरमुकामको कृष्ण मन्दिर, टक्सार बजार, दिङ्ला बजारलगायत ठाउँमा मेला लाग्ने गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here