काठमाडौं,१९,भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐनमा नेकपा एमालेका अध्यक्ष ओलीको सहयोग मागेका छन् ।मंगलबार दिउँसो प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरवार बोलाएका थिए । दुई नेताबीच भएको भेटमा प्रचण्डले टिआरसी टुंग्याउन एमालेको सहयोग आवश्यक रहेको बताएका हुन् ।प्रधानमन्त्री कार्यालय र एमाले नेताहरुका अनुसार भेटमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘टिआरसीमा तपाईंको सहयोग चाहियो ।’ जवाफमा अध्यक्ष ओलीले सहयोग गर्ने आफूहरुको चाहना नरहेको बताए । नेताहरुका अनुसार ओलीले प्रचण्डलाई जवाफ फर्काएका छन्, ‘हाम्रो सहयोग छ कहिले पो असहयोग थियो र |प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा बिचाराधीन विधेयक विगतको भन्दा सकारात्मक रहेको भन्दै ओलीले ‘थप सुधारका लागि तयार हुनुपर्ने’ पनि बताएका छन् ।
संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने सन्दर्भमा खुला छलफल गर्न तयार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलको सहयोगमा मात्रै विधेयक अगाडि बढाउने चाहना रहेको बताएका छन् ।मंगलबार नै बसेको प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिले टिआरसी सम्बन्धी विधेयकमाथि छलफल जुटाउन गठित संसदीय उपसमितिको म्याद सात दिन थप गरेको छ ।जेठ ५ गते २१ दिनको समय दिएर गठन भएको उपसमितिको म्याद असार ५ गते १५ दिन थपिएको थियो । फेरि पनि काम नसाकाएको भन्दै उपसमितिले समय मागेपछि एक साता थपिएको हो ।प्रधानमन्त्रीलाई भेट्न जानु अगाडि एमाले अध्यक्ष ओलीले कानुन न्याय तथा मानव अधिकार समितिमा रहेका एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङसँग समेत छलफल गरेका थिए । दुई नेताबीच सिंहदरवारमै छलफल भएको थियो ।छलफलपश्चात अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न प्रधानमन्त्री कार्यालय गएका थिए भने उपाध्यक्ष नेम्वाङ कानुन न्याय तथा मानव अधिकार समितिको बैठकमा सहभागी हुन गएका थिए ।







