भरतपुर, १७ भदौ |
चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एकको मृत्यु भएको छ । जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिनुभयो ।उहाँका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भन्नुभयो, “महतोलाई भरतपुर अस्पतालमा पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।” उहाँका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन् ।








