मलेखु (धादिङ), १६ भदौ |
धादिङको गुर्दुम गाउँमा स्वास्थ्यचौकी नहुँदा गर्भवतीलाई उपचारका लागि सास्ती हुने गरेको छ । यहाँसम्म एम्बुलेन्स पुग्ने सडक छैनन् भने गाउँबाट सबैभन्दा नजिक मानिने स्वास्थ्य संस्था नौबिसेमा छ । सुत्केरी व्यथाले च्यापेपछि स्टेचरमा राखेर तीन घण्टाको ठाडो ओरालो झर्नु गाउँका सबैको बाध्यता हो ।“घरमै सकुशल आमा र बच्चाको ज्यान जोगाउनु नै हाम्रा लागि ठूलो उपलब्धि हो”, धुनिबेँसी नगरपालिका–७ गुर्दुमका वीरबहादुर तामाङले भन्नुभयो ।सुत्केरीलाई पोषिलो खानेकुराको जोहो गरिसकेको भन्दै वीरबहादुरले श्रीमतीलाई सुत्केरी गराउन अस्पताल पु¥याउने चिन्ताले पिरोलेको बताउनुभयो । “सुत्केरीका लागि आवश्यक सबै पोषिलो खानेकुरा स्वास्थ्यकर्मीले भनेअनुसार नै तयार गरेर राखेको छु ।गाउँका अधिकांशले सकेसम्म घरमै सुत्केरी गराउन खोज्ने गरेको बताउँदै वीरबहादुरले यो यहाँका स्थानीयको बाध्यता भएको उल्लेख गर्नुभयो । उहाँका अनुसार कतिपयले स्वास्थ्य चौकी वा अस्पताल जाँदाजाँदै बाटैमा बच्चा जन्माउँछन् । “जिल्लाको धुनिबेँसी नगरपालिका वडा नं ७ तोप्लाङ, गुर्दुम, लिखु, मजुवा, धुसेनी, थलीका सबैको साझा समस्या यस्तै छ ।बिरामी अस्पताल लैजाने खबर पाएपछि गाउँका सबै आइपुग्ने भन्दै उकालोओरालो बाटोमा स्टेचरमा बिरामी/गर्भवती बोकेर स्वास्थ्य संस्थामा पु¥याउनु निकै चुनौतीपूर्ण काम भएको वीरबहादुरको अनुभव छ ।
“दिउँसोमा पनि दायाँबायाँको बुटा समाउँदै हिँड्नुपर्छ । ओरालो बाटोमा राति बिरामी बोक्नयद्ध जिते बराबर हुन्छ ।बर्खाको समयमा झन बाटो हिलो/लेदो हुने भएकाले यात्रा गर्न सास्ती हुने गरेको स्थानीय बताउँछन् । हिउँदमा जसोतसो गाउँसम्म गाडी पुगे पनि बर्खामा बाटोका कारण पैदल यात्रा नै सकसपूर्ण हुने स्थानीयको भनाइ थियो ।“एम्बुलेन्स आउने केराबारीडाँडा वा दोभानसम्म बिरामी बोक्न कम्तीमा दुई घन्टा लाग्छ । पानी परेको बेला चिप्लो ओरालो झर्नै सक्दैन । सुत्केरीलाई बोकेर झन कसरी झर्नु निकै समस्या छ”, वीरबहादुरले दुखेसो पोख्नुभयो । उहाँका अनुसार व्यथा सामान्य रह्योे र गाह्रो भएन भने गाउँमै सुत्केरी गराउने चलन छ ।सुत्केरी व्यथा लामो समयसम्म लाग्यो वा गर्भवतीलाई गाह्रो भयो भने मात्रै नौबिसे स्वास्थ्य चौकी लाने गरिएको फुर्लुङ डाँडाकी विष्णुकुमारी धलानले बताउनुभयो । सुत्केरी हुने समय नजिकै आएका केही गर्भवतीले अस्पताल छेउछाउमा कोठा भाडामा लिएर बस्ने गरेका महिला स्वयंसेविका कविता लामाले बताउनुभयो । “अस्पताल नजिक आफन्त हुनेहरुले त्यही बस्ने गरेका छन् ।“अघिल्लो वर्ष मजुवा गाउँकी दुई जना गर्भवतीले घरमै बच्चा जन्माउनुभयो । थलिको एकजना गर्भवतीलाई बोकेर नौविसे स्वास्थ्य चौकी झार्दाझार्दै बाटैमा बच्चा जन्मियो”, स्वयंसेवका कविताले भन्नुभयो, “घरमै बच्चा जन्माउने र बाटोमा सुत्केरी हुने घटना हाम्रो गाउँका लागि कुनै नौलो घटना होइन ।नगर क्षेत्रभित्रका गर्भवती र सुत्केरी बोक्न एम्बुलेन्स शुल्कसमेत निःशुल्क गराएको धुनिबेँसी नगरपालिकाले जनाएको छ । “टोलटोलमा स्टेचर पठाएका छौँ भने वडा नं ७ भित्र तीन जना महिला स्वयंसेविका पनि खटाएका छौँ”, वडाध्यक्ष यदुनाथ पाठकले भन्नुभयो,।गाउँमा बर्थिङ सेन्टर तथा स्वास्थ्यचौकी नहुँदा यहाँका अधिकांश महिलाले ज्यान जोखिममा राखेर बच्चा जन्माउन बाध्य छन् ।







