भोजपुर, ६ भदौ :
टेम्केमैयुङ गाउँपालिका–९ स्थित राउतेखोलाको झोलुङ्गे पुल बाढीले बगाएपछि स्थानीयलाई समस्या भएको छ । एक गाउँबाट अर्को गाउँ जोड्ने पुल बाढीले बगाएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको हो ।गत असार ८ गते आएको बाढीले राउतेखोलामा लगाएको ट्रस्ट ब्रिज बगाएपछि आवतजावतमा समस्या भएको स्थानीयवासीले बताएका छन् । पुल बगेपछि यहाँका बालबालिका ज्यान जोखिममा राखेर विद्यालय जान बाध्य छन् । राउते, हिले, रुपाथुमकी र खानीगाउँका बालबालिकालाई दैनिक विद्यालय आउनजान समस्या भएको सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजधन राईले जानकारी दिनुभयो । खोलामा ज्यान जोखिममा राखेर विद्यार्थी विद्यालय आउनुपर्ने स्थिति छ ।
“बाढीले पुल बगाउँदा जनजीवन प्रभावित भएको छ पुलको कारण बालबालिकालाई विद्यालयसम्म नै आउन कठिनाइ भएको छ । पानी परेको अवस्थामा उनीहरुलाई झनै जोखिम छ ।” खोलामा चाँडो पुल बनाउन यहाँका बासिन्दाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसित माग गरेका छन् ।ज्यानलाई जोमिखमा राखेर खोला तर्नुपर्ने अवस्था रहेको कक्षा ११ मा पढ्ने छात्र दीपक विष्टले बताउनुभयो । खोला तर्दा किताब, कपीसँगै कपडा भिज्ने गरेको विष्टको भनाइ छ । कहिलेकाहीँ बाटोमा हिँड्ने मानिसको सहायताले खोला पार गर्ने गरेको उहाँको भनाइ छ । “उर्लिएर आएको खोला तर्न ज्यानको बाजी लगाउनुपरेको छ |किताब, कपीसँगै कपडा भिज्दा पठनपाठन गर्न समस्या हुन्छ । दिनभर चिसो कपडामा बस्दा बिरामी परेको अवस्था पनि छ । कहिले किताब, कापी त कहिले जुत्ताचप्पल खोलामा बग्छन् । हामी ४०–५० जना साथी यसरी नै विद्यालय जानेआउने गरेका छौँ । अर्को ठाउँको पुलबाट विद्यालयसम्म दुई घण्टा बढी घुम्नुपर्ने अवस्था रहेको सिंहदेवी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययानरत छात्र दुर्गाबहादुर विश्वकर्माले बताउनुभयो । बाढीले पुलसँगै बाटो बगाउँदा बालबालिका विद्यालय जानबाट बञ्चित भएको स्थानीयवासी टङ्क विश्वकर्मा बताउनुहुन्छ । बालबालिकालाई बाध्य भएर जोखिममा पनि विद्यालय पठाउनुपर्ने अवस्था छ । घरको काम पनि धान्नुपर्ने भएकाले सधैँ अभिभावकले विद्यालयसम्म पुर्याउन सक्ने अवस्था नरहेको विश्वकर्माले बताउनुभयो ।
बाढीले पुल बगाउँदा स्थानीयको जनजीवन निकै कष्टकर बनेको टेम्केमैयुङ गाउँपालिका–९ का वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले राईले बताउनुभयोे । बाढीले झोलुङ्गे पुल, सडकसँगै १६ वटा सिँचाइ कुलो बगाएको उहाँको भनाइ छ । यो खोलामा निर्माण भइरहेको पक्की पुलमा समेत क्षति पुर्याएको वडाध्यक्ष माङ्गपाहाङ्गले जानकारी दिनुभयो । झोलुङ्गे पुलसँगै यो खोला भएर बनेका सबै सडक बगाएको छ “सडक अवरोध हुँदा बालबालिका विद्यालय जान सकेका छैनन् भने सुत्केरी, ज्येष्ठ नागरिक, असक्तलाई उपचारका लागि अस्पताल लैजानसमेत समस्या भएको छ ।








