काठमाडौँ, ४ साउन (रासस) |
नेकपा (एमाले)ले पार्टीमा रहेका सङ्गठित सदस्यहरुको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गर्नुभएको हो । “नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन । उहाँले प्रत्येक वडामा मतदाता सङ्ख्याको कम्तीमा तीन प्रतिशत सदस्य पुर्याउने र पार्टीको एघारौँ महाधिवेशनसम्ममा १० लाख गुणस्तरीय सदस्य पु¥याउने लक्ष्य रहेको उल्लेख गर्नुभएको छ ।एमालेले दशौँ महाधिवेशनका बेला रहेको त्रुटिलाई पनि सच्याउने क्रममा अहिले वास्तविक पार्टी सदस्य सङ्ख्या रहेको स्पष्ट पार्नुभयो । एमालेले महाधिवेशनको आयोजना नभएको समयमा अहिले सक्रिय सदस्यको यथार्थ सङ्ख्या र योग्यतम सदस्यको मात्र नवीकरण गरिएको उहाँले बताउनुभएको छ ।
“दशौँ महाधिवेशनमा कायम भएका सदस्यमा एकातिर एकीकृत समाजवादीतर्फ गएका सबै सदस्यको नाम यथावत् कायम थियो भने अर्कोतिर नेकपाकालमा अनुचित ढङ्गले दिइएका सदस्यको ठूलो सङ्ख्या पनि त्यसमा पर्न गएको थियो । तसर्थ, त्यो एमालेको वास्तविक सदस्य सङ्ख्या थिएन । सङ्गठन विभाग प्रमुख अधिकारीले एमालेले यसअघि महाधिवेशनदेखि महाधिवेशनमा मात्रै सदस्यको सदस्यता नवीकरण हुने गरेको र जसले गर्दा निष्क्रिय सदस्यले पनि नवीकरण गर्ने अवसर पाउने गरेको उल्लेख गर्नुभएको छ । नेतृत्वका आकाङ्क्षीबाट कतिपय अवस्थामा अन्य भोटर सदस्यको शुल्क तिरिने, दबाब दिएर कमिटीमा निर्णय गराइनेजस्ता अनियमित कामका कारण अनुचित ढङ्गले पनि सङ्ख्या बढ्न पुग्थ्यो । एमालेको इतिहासमा यसपटक त्यसमा क्रमभङ्ग गरिएको छ ।








