काठमाडौँ, १३ फागुन ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी हुने दावी गर्नु भएको छ ।
अध्यक्ष नेपालले ८ दलको सहमतीमा प्रस्तावित पौडेल अवश्य पनि राष्ट्रपति बन्नु हुने सबैले आशा गरेको पनि बताउनु भयो । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पौडेलप्रति लक्षित गर्दै जुनसुकै ओहोदामा पुगेका व्यक्तिहरुले पनि आफ्नो मर्यादाको सम्मान गर्दै राष्ट्र र जनताको हित चिताएर अघि बढनुपर्ने कुरामा कटिवद्ध हुनुपर्ने स्पष्ट पार्नु भयो । उहाँले जनताको चाहनालाई साकार पार्ने गरी अघि बढन प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि आग्रह गर्नु भयो । मुलुक रुपान्तरणको यो महान अभियानमा गम्भिर भएर अघि बढन प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराउँदै अध्यक्ष नेपालले त्यसै अभियानलाई साथ दिन ८ राजनीतिक दलहरु एक ठाउँमा उभिने निष्कर्षमा पुगेको समेत बताउनु भयो ।
संघीयता, लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरु एक भएर बढन तयार भएको उहाँको भनाई थियो । अध्यक्ष नेपालले भन्नु भयो, ‘उहाँलाई बधाई पछि दिउला । हामीले आज मात्रै नेपाली काँग्रेसका वरिष्ठ नेता, प्रतिनिधिसभा सदस्य माननीय रामचन्द्र पौडेलजीलाई राष्ट्रपतिका लागि हामीले प्रस्तावित गरेका छौं । अव उहाँ अवश्य पनि विजयी हुनुहुनेछ भन्ने हामी सबै आशा गरिरहेका छौं । यस अर्थमा सबै व्यक्तिहरु जुनसुकै ओदोहामा किन नहुनुहोस् ।
आफ्नो ओहोदाको मर्यादाको रक्षा गर्दै, त्यसको सम्मान गर्दै र यो देश र जनताको हित चिताएर अगाडि बढने कुरामा हामी कटिवद्ध होऊ भन्न चाहन्छु ।अहिले फेरी हामीले ल्याएका परिवर्तनहरु उल्टयाउने षडयन्त्रहरु भईरहेका छन । त्यसकारण म आजको यो दिनमा लोकतन्त्रका निम्ति समर्पित भएका व्यक्तित्वहरुलाई, समाजसेवामा समर्पित भएका व्यक्तित्वहरुलाई यस कुरामा विशेष रुपमा गम्भिर बन्नका लागि सबैको ध्यान आकर्षित गर्न चाहन्छु । यसअर्थमा पनि अहिले हामीले आठ दलको बीचमा बसेर छलफल गर्दाखेरी यो पक्षलाई पनि हाम्रो राष्ट्रियताको पक्षलाई कसरी संरक्षण गर्ने, हाम्रो राष्ट्रिय मर्यादाको रक्षा कसरी गर्ने, राष्ट्रिय स्वाभिमानलाई बचाउने कसरी र हामीले प्राप्त गरेको लोकतन्त्रको रक्षा गर्ने कसरी ? गणतन्त्रको रक्षा गर्ने कसरी, संघीयताको रक्षा गर्ने कसरी ? यो समावेशी मान्यतालाई हामीले कामय राख्ने कसरी ? यी सबै कुराहरुको साथसाथै हामीले जनतालाई दिनुपर्ने डेलिभरी सुशासन र छिटोछरितो सेवा । यो सेवा र राम्रो काम ।
यस अर्थमा सुशासनको मान्यतालाई, विकासको आवश्यक्तालाई, जनताको समृद्धिको चाहनालाई पूरा गर्नका लागि हामी सबै जुटने कसरी ? यी सबै कुरामा हाम्रो ध्यान जानुपर्ने आवश्यक्ता पर्दछ उहाँकै नेतृत्वमा मुलुक चलिराखेको छ । मुलुकलाई रुपान्तरण, यो परिवर्तनको महान अभियानमा गम्भिर भएर आजसम्म प्राप्त हाम्रा अनुभवनहरु, नकारात्मकबाट शिक्षा प्राप्त गर्दै सकारात्मक दिशाम अघि बढदै मुलुकको चाहना, जनताको चाहनालाई साकार पार्नका लागि अघि बढनु हुने मैले आशा गरेको छु ।’
अध्यक्ष नेपालले महेन्द्र्रनारायण निधिको लोकतन्त्रप्रतिको निष्ठा आज पनि अनुकरणीय रहेको बताउनु भयो । त्यस अवसरमा उहाँले महेन्द्रनारायण निधि प्रतिष्ठानले समाजसेवाको क्षेत्रमा पु¥याएको योगदानको पनि प्रशंशा गर्नु भएको थियो ।








