१२ माघ, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शुरु भएको स्थायी कमिटी बैठकमा अध्यक्ष दाहालले समसामयिक राजनीतिक परिस्थितिको सम्बन्धमा लिखित प्रतिवेदन पेस गर्नुभएको हो ।

अध्यक्ष दाहालले समसामयिक राजनीतिको बारेमा बैठकमा ब्रिफिङ समेत गर्नुभएको पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष दाहालले निर्वाचन अघिको गठबन्धन छाडेर नेकपा एमाले सँग सहकार्य गर्नुपरेको अवस्थाको बारेमा ब्रिफिङ गर्नुभएको महराले बताउनु भयो ।

महराले भन्नुभयो – ‘सरकार बन्नुभन्दा पहिले चुनावमा, चुनावको स्थिति, हाम्रो स्थिति, पार्टीको स्थिति अनि सरकार बन्ने बेलामा हामी गठबन्धन छोडेर अर्को सहमति गर्न पुग्यौँ । त्यो स्थिति र अहिले सरकार कसरी चलिरहेको छ भन्नेमा दाहालले ब्रिफ गर्नुभयो ।’

बैठकले पार्टीको नेतृत्वमा सरकार बनेकोमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाललाई बधाई दिएको छ भने उपमहासचिव वर्षमान पुनको स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै यति एयरलाइन्सको जहाज दुर्घटनामा निधन भएकाहरुप्रति पनि श्रद्धाञ्जली व्यक्त गरिएको उपाध्यक्ष महराले जानकारी दिनुभयो ।

बैठकमा पार्टी एकता र संगठन बिस्तार बारेमा एजेण्डा रहेको र भोलि (शुक्रवार) बस्ने बैठकमा सो विषयमा छलफल हुने बताइएको छ । स्थायी कमिटीको बैठक शुक्रबार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here