काठमाडौं १ माघ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन अध्यापन गराउन सरकारले भुमिका खेल्ने बताउनुभएको छ । आईतवार भक्तपुरमा आयोजित ८ औं राष्ट्रिय योग दिवसको अवसरमा बोल्दै उहाँले मानिसलाई मानसिक रुपले पनि तन्दुरुस्त बनाउन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनुभएको हो । उहाँले विद्यालय र विश्वविद्यालय तहमा नै योग शिक्षालाई प्राथमिकता दिएर अघि बढाउनसके नेपालबाट संसारभर योग प्रशिक्षक दिन र नेपाललाई नयाँ पहिचान दिनसक्ने बताउनु भयो । उहाँले भौतिक विकासले मात्रै मानिस सम्पन्न बन्न नसक्ने भन्दै योग शिक्षाबाट नै आध्यात्मिक, मनोवैज्ञानिक चेतनाको विकास अपरिहार्य भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले भौतिक रुपले सम्पन्न देशहरुमा धेरै डिप्रेसन र आत्महत्याका घटनाहरु भएको भन्दै मानसिक रुपमा पनि चुस्त राख्न आवश्यक रहेको बताउनु भयो । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग, ध्यान र साधनाको आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले सारा विश्व, योग, ध्यान र साधनातिर केन्द्रित रहेको भन्दै योग र साधना नेपालको संस्कृति, सम्पदा र पहिचानको आधार भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पु¥याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताउनु भयो ।







