काठमाडौं ५ पुस ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको छ । सोमवार पार्टीको केन्द्रिय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले राप्रपालाई सरकारमा जान हतारो नभएको बताउनुभएको हो । उहाँले आफूहरुले सरकारमा नजाने भनेर कसम पनि नखाएको भन्दै आगामी दिनमा के गर्दा आफ्नो मान्यताहरु स्थापित हुन्छन् सोही गर्ने बताउनु भयो । उहाँले आफूहरु मन्त्री खानको लागि कसैको घर नधाउने स्पष्ट पार्नुभयो । अध्यक्ष लिङदेनले राप्रपा कुनै दलको पुच्छर नबन्ने पनि बताउनु भयो । उहाँले सरकारमा जानुपरेमा वा कसैलाई समर्थन गर्नुपरेमा कारणसहित गर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो – ‘सरकार निर्माणको प्रक्रिया शुरु भएको छ । राष्ट्रपतिबाट आहह्वान भएको छ । हामी बैठक बसेर आधिकारिक धारणा पनि बनाउँछौँ । कोही पनि हाम्रो साथीहरुले आत्तिनुपर्दैन । नेतृत्वले गल्ती गर्छ कि, फेरि राष्ट्रिय प्रजातन्त्र पार्टी जोखिममा जान्छ कि यो चिन्ता लिनुपर्दैन । हामी सोचि, विचारी निर्णय गर्छौ । अहिले न हामीलाई सरकारमा जान हतारो छ । न सरकारमा नजाने भनेर हामीले कसम खाएरै आएका छौँ । के गर्दा उपयुक्त हुन्छ । के गर्दा हाम्रो मान्यताहरु स्थापित हुन सक्छन् । के गर्दा देश र जनताको अवस्थामा परिवर्तन ल्याउन सकिन्छ । त्यो सोचेर, बिचार गरेर हामी निर्णय गर्छौ । हामी मन्त्री खानको लागि कसैको घर धाउँदैनौँ । कुनै दलको पुच्छर बनेर हिँड्दैनौँ । हामीले सरकारमा गएर, नगएर पनि अरु कसैलाई समर्थन गर्नुप¥यो भने कारणसहित गर्छौं । कारणसहित जान्छौँ । त्यसमा तपाईहरु सबै ढुक्क रहन आग्रह गर्छु । अध्यक्ष लिङ्देनले राप्रपाको उकालो यात्रा शुरु भएको बताउनु भयो । उहाँले आगामी दिनमा सतर्कतापूर्वक अगाडी बढ्दै पार्टीलाई पहिलो बनाउने बताउनु भयो । उहाँले पार्टीले अझै मत ल्याउनुपर्ने भन्दै प्राप्त भएको मत परिणाम बाट आफू सन्तुष्ट नभएको उल्लेख गर्नुभयो । पार्टीलाई ठिक ढंगले परिचालन गर्न नसक्दा प्राविधिक रुपमा धेरै मत नआएको भन्दै उहाँले जनताको मन भने जितेको बताउनु भयो । लिङ्देनले राप्रपा सुध्रिएको हो कि होइन भनेर जनताले परीक्षण गर्नका लागि यसपटक यति मत दिएका उल्लेख गर्नुभयो । अध्यक्ष लिङदेनले नवनिर्वाचित सांसदहरुलाई विदेशी दुतावासहरुले कार्यक्रमहरुमा बोलाएमा पार्टीको अनुमति बिना नजान निर्देशन दिनुभयो । दुतावासले बोलाएर रक्सीमासु खुवाउने भन्दै उहाँले त्यस्तो नगर्न आग्रह गर्नुभयो । उहाँले सांसदहरुलाई अनुशासन र मर्यादामा बस्न दिर्नेशन दिनुभयो । उहाँले पार्टीमा योगदान गरेका र क्षमता र सम्भावना भएका नयाँ व्यक्तिहरुलाई सांसद बनाइएको बताउनु भयो । पार्टीमा नयाँ मानिसहरुलाई पनि अवसर दिनुपर्ने र फराकिलो दृष्टिकोण राख्नुपर्ने उहाँको भनाई छ । पार्टी सदस्यहरुले पनि कडाइपूर्वक पार्टी अनुशासनको पालना गर्नुपर्ने उहाँले बताउनु भयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here