काठमाडौं ५ पुस ।
नेकपा एकीकृत समाजवादी० का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अल्मल्याउने कुरा मात्रै भएको बताउनुभएको छ । सोमवार पार्टी केन्द्रिय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरुलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो । उहाँले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आम चासाको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताउनु भयो । अध्यक्ष नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताउनु भयो । उहाँले आगामी सरकार गठबन्धनकै बन्ने आश गरेको पनि बताउनु भयो । अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरु
नेताहरुमा अहंकार भए र उनीहरुलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष नेपालले वर्तमान राजनीतिमा व्यापक रुपमा व्यक्तिवाद हाबी भएको बताउनु भयो । उहाँले आफूले पाएपछि सबै ठिक नपाए सबै बेठिक भन्ने परम्परा हाबी भएको भन्दै पद र पैसाले मानिसलाई भ्रष्ट बनाउँदै लगेको बताउनु भयो ।
उहाँले यसको बिरुद्धमा विशाल वैचारिक अभियान चलाउनुपर्ने बताउनु भयो । अध्यक्ष नेपालले कम्युनिष्ट पार्टीलाई परित्याग गरेर जनताको विश्वास जित्न नसक्ने बताउनु भयो ।भ्रष्टीकरणबिरुद्धमा आफ्नो पार्टीभित्र शुद्धीकरणको अभियान, सदृढिकरण, रुपान्तरणको अभियान चलाउनुपर्ने बताउनु भयो । उहाँले नेताहरु राति हुन नपाइ मद्यपान गरेर बस्ने र बोली नै बिगारेर बोल्ने गरेको आफूले पाएको भन्दै जनताको काम गर्न लागिपर्न निर्देशन दिनुभयो । अध्यक्ष नेपालले अहिलेको निर्वाचनमा नेपाली राजनीतिमा दक्षिणपन्थी शक्तिहरुले आफ्नो शक्ति आर्जन गर्नु चुनौतिको विषय भएको बताउनु भयो ।
उहाँले गणतन्त्रका बिरुद्धमा राजतन्त्रलाई फेरि पुनः स्थापित गर्नेकुराको पक्षमा कुनै कदम नचाल्न चेतावनी दिनुभयो । उहाँले समस्या भन्ने भन्दा पनि त्यसको समाधान कसरी गर्ने भन्नेकुराको खोजि गर्न जनप्रतिनिधिहरुलाई आग्रहगर्नुभयो । अध्यक्ष नेपालले मुलुकमा भ्रष्टाचार व्याप्त भएको भन्दै भ्रष्टाचार गर्ने कोहीपनि नेतालाई पार्टीले छुट नदिने बताउनु भयो । उहाँले अहिले गठबन्धनकै भरमा चुनाव लडेको भन्दै सिट विभाजनमा आफ्नै गुनासा भएपनि निर्वाचनको आवश्यक
समीक्षा गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलनमा आफ्नो पार्टीको विशेष अर्थ भएको बताउनु भयो । उहाँले गठबन्ध्नमा अरु सबै पार्टीले नोक्शानी व्यहोरे पनि काँग्रेसले फाइदा लिएको
बताउनु भयो ।







