काठमाडौं १९ कात्तिक  ।

सुदूरपश्चिम प्रदेशमाथि १ सय ६९ रनको फराकिलो जित निकाल्दै विभागीय टोलीत्रिभुवन आर्मीले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न शुक्रवारको खेलमा आर्मीले सुदूरपश्चिमलाई फराकिलो अन्तरले पराजित गरेर दोस्रो खेलबाट
पहिलो जित निकालेको हो । यसअघि पहिलो खेलमा आर्मीले अर्को विभागीय टोली एपिएफलाई ५६ रनको नतिजा सुम्पिएको थियो । आर्मीले दिएको २ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि वसन्त खत्रीले सर्वाधिक २५ रन जोड्दा नारायण जोशीले १९ रन जोड्दा गजेन्द्र भण्डारीले १७ तथा टेक रावलले १५ रन बनाए । वसन्त कार्की १४ तथा मिलन बोहरा १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । सुदूरपश्चिमको इनिङलाई सस्तैमा समेट्ने क्रममा जितेन्द्र मुखियाले ३ विकेट लिए । विक्रम सोब र शादव खानले २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८२ रन बनाएको थियो । आर्मीका लागि अर्जुन साउदले सर्वाधिक ७३ रनको अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका रोहित पौडेलले ५२ रन जोडे । त्यस्तै कुशल मल्लले ४३ रन जोड्दा भीम सार्कीले ३४ तथा कप्तान विनोद भण्डारीले २८ रन बनाए । विक्रम सोब १५ रनमा अविजित रहदा सोनु तामाङ १६ रनमा आउट भए । सुदूरपश्चिमका हेमन्त धामी, नारायण जोशी र गजेन्द्र बोहराले २÷२ विकेट लिए । यस जितसँगै आर्मीले २ खेलमा २ अंक जोडेको छ । आर्मी तेस्रो स्थानमा उक्लिएको छ । उता लगातार तेस्रो हार व्यहोरेको सुदूरपश्चिम पुछारमा छ भने सुदूरपश्चिम प्रतियोगिताबाट समेत बाहिरिएको छ । प्रतियोगिता अन्तर्गत शुक्रवार नै भएको अर्को खेलमा एपिएफ र गण्डकीप्रदेशबीच खेल टाइ भएको छ ।  मूलपानी मैदानमा यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले ३५।१ ओभरमा सबै विकेट गुमाएर १ सय १५ जोडेको थियो । एपिएफका दुवै ओपनरले राम्रो शुरुवात गर्न सकेनन् । एपिएफका लागि भुवन कार्कीले बनाएको नट आउट २४ रनको  पारी नै सर्वाधिक रन रह्यो । यसअघि पूर्ण विकले २३ को व्यक्तिगत स्कोर बनाउँदा लोकेश बम र सन्दीप जोराले समान २२÷२२ रनको योगदान गरे । अमर
रौटेलाले १३ रन जोड्दा कप्तान शरद भेषवाकर विपिन खत्रीको बलमा बोल्ड हुँदै पवेलियन फर्किएका थिए । एपिएफका तीन ब्याट्सम्यान शून्यमा पवेलियन फर्किएका थिए । बलियो एपिएफलाई रोक्ने क्रममा अमृत गुरुङ र अर्जुन कुमालले समान ३÷३ विकेट लिए । यस्तै सुवास भण्डारीको नाममा २ विकेट रहँदा चन्द्र पौडेल र विपिन खत्रीले १÷१ विकेट निकाले । यससँगै एपिएफ र गण्डकीले समूह ‘ए’ को अंक तालिकामा समान ५ अंक बनाएका छन् । तीन खेलबाट दुवै टोलीले समान २÷२ खेलमा जित निकालेका छन् । एपिएफ रन रेटको आधारमा समूह तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगितामा शनिवार पनि दुई खेल हुनेछन् । कीर्तिपुरमा एपिएफ र कर्णालीबीच खेल हुनेछ भने मुलपानी मैदानमा लुम्बिनी र मधेस प्रदेशबीच खेल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here