२०७९ असोज ९ गते । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताउनुभएको छ । नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर शनिवार (आज) काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष भट्टराईले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबीचतानातान भइरहेको बताउनु भयो । उहाँले भूराजनीतिक संकटका कारण देशमा संघीयतालाई कमजोर पार्ने, अर्थतन्त्रलाई कमजोर पार्ने र अराजकता निम्त्याउने प्रयास भइरहेको बताउनु भयो ।
अध्यक्ष भट्टराईले संकटलाई ध्यान
दिँदै देशलाई नयाँ दिशा दिलाउनको निम्ति अहिलेदेखि नै तयारी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएको दाबी गर्नुभयो । अध्यक्ष भट्टराईले भन्नुभयो, ‘यो निर्वाचनपछि नयाँ राजनीतिक ध्रुवीकरण हुँदै अग्रगमनतर्फको दिशामा अघि बढ्नेछ । किनकी पुराना शक्तिहरुले यो देशलाई झन बर्बादीतिर लिएर जाँदैछन् । जुन भूराजनीतिक संकट चीन अमेरिकाबीचको तानातान बढ्दैछ ।
यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ । त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ । त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो ।’








