सप्तरीको खडक नगरपालिका ९ का ५० वर्षीय बौली चौधरीको हत्यारालाई कारबाही माग गरिएको छ । दुई साताअघि पूजाको प्रसाद खान बोलाएर छिमेकीले सांघातिक आक्रमण गर्दा गम्भीर घाइते भइ मृत्यु भएका चौधरीको हत्याराको कारवाहीको माग गरिएको छ । छिन्नमस्ता अस्पतालमा उपचारको क्रममा चौधरीको आइतबार मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका चौधरीको न्यूरो अस्पताल बिराटनगरमा समेत उपचार गरिएको थियो । तर, त्यहा निको नभइ चिकित्सकले अब घरमै लगेर राख्ने सल्लाह दिएपछि परिवारजनले अन्तिम प्रयास स्वरुप उनलाई दुई दिनअघि मात्र सो अस्पतालमा भर्ना गराएका थिए । मृतकका जेठी छोरी चन्द्ररेखाका अनुसार गत असार २९ गते छिमेकी सुकमरिया देवीले बुबा बौलीसहित भिम राम र जितकुमार रामलाई पूजाको प्रसाद खान घर बोलाएका थिए । प्रसाद हातमा लिएकै बेला अचानक पछाडिबाट आएका सुकमरियादेवीका २५ वर्षीय छोरा उदयकान्तले बुबाको टाउँकोमा निर्ममतापूर्वक लाठी प्रहार गरी भागेको थियो । गम्भीर घाइते भएका बुबालाई तत्कालै स्थानीय देवकान्त चौधरीको उपचार केन्द्रमा र त्यसपछि लहानस्थित एक अस्पतालमा पु¥याउँदा भर्ना लिन नमानेको उनले सुनाइन् ।
त्यसपछि बिराटनगरस्थित न्यूरो अस्पताल पु¥याइएको कान्छी छोरी आशाले बताइन् । तर, साउन १० गते सो अस्पतालका चिकित्सकले अब बचाउन नसकिने भन्दै घरमै लैजान सल्लाह दिएका थिए । मृतक चौधरीका दुई छोरी र एक छोरा छन् । डेढ महिना मात्र छोरा रबीन्द्र रोजगारीका लागि विदेश गएको बेला भएको घटनाले दुबै छोरी बेसहारा भएकी छिन् । गरिबीका कारण बुबा बौली सुकमरिया देवीकै खेतमा ज्याला मजदुरी गर्ने गरेको आशाले बताइन् । ‘त्यही खर्चबाट घर खर्च चलाउँदै आएको बुबाको हत्याले टुहुरा बनाए, हामी दुई बहिनी अब बेसहारा भयौं,’उनले पीडा सुनाइन् । दिदीबहिनीले प्रसाद खान जानु नै बुबाका लागि मृत्युको कारण बनेको बताउँदै हत्यामा संलग्नलाई कडा कारवाही हुनुपर्ने माग गरेकी छिन् । सप्तरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) माधवप्रसाद काफ्लेले बौली चौधरीमाथी आक्रमण गर्ने छिमेकी उदयकान्तलाई घटनाको भोलीपल्ट नै पक्राउ गरिएको बताए । उनले उदयकान्तमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई हाल उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरको हिरासतमा राखिएको जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।








