साउन ,१६ गते, ।
सप्तरीमा तीन वटा शैक्षिक संस्थाको उद्घाटन भएको छ ।
मधेश प्रदेशको समाजिक विकास मन्त्री नवल किशोर साहले एकै दिन तीन वटा शैक्षिक संस्थाको उद्घाटन गरेका हुन् । आइतबार हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ५ जोगिनियामा मदरसा र सामुदायिक भवन तथा कंचनरुप नगरपालिकाको वडा नं. १० बदगामामा नवनिर्मित आधारभूत विद्यालय भवनको मन्त्री साहले उद्घाटन गरेका हुन् । तीन कोठे मदरसा भवन निर्माणका लागि मन्त्री साहले आफ्नो संसदीय विकास कोषबाट ४५ लाखको सहयोग उपलब्ध गराएका थिए । त्यस्तै सोही वडामा मन्त्री साहको संसदीय विकास कोषबाट ३० लाख र मधेश प्रदेश सरकारको ५५ लाखको सहयोग गरी ८५ लाखका लागतमा सामुदायिक भवन निर्माण भएको हो । कंचनरुप नगरपालिकामा आधारभूत विद्यालय भवन निर्माणमा ६५ लाख खर्च भएकोमा ४५ लाख मन्त्री साहको संसदीय विकास कोष तथा २० लाख सामाजिक विकास मन्त्रालयबाट सहयोग उपलब्ध गराइएको छ ।नवनिर्मित संरचना सम्बन्धित निकायलाई हस्तान्तरण गर्दै मन्त्री साहले भवनको अभावमा समस्या झेलि रहेका विद्यार्थी र समुदायलाई सहजता र उपयुक्त वातावरण प्रदान गर्न सहयोग गरिएको बताए । बालबालिकाको शिक्षामा पहुँच बढाउन आफूले विद्यालय तथा मदरसा निर्माणमा जोड दिएको उनले बताए । उनले मुस्लिम समुदाय लक्षित कब्रिस्तान तथा मदरसा निर्माणमा विशेष ध्यान दिएको पनि बताए । भवनको अभावमा फुस र टिनको छानामुनी बसेर पढ्न बाध्य भएर विद्यार्थीहरु पक्की भवनको कक्षा कोठा पाएपछि निकै हर्षित भएका थिए ।








