साउन १६ गते ।
सर्लाहीमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । आइतबार अबेर साँझ सर्लाहीको बागमती नगरपालिका–३ धरहराबाट पक्राउ परेका ७ जनामध्ये एकजना महिला पनि पक्राउ परेकी छन् ।बागतीको धरहरास्थित घिसिङ होटलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारी गरी उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । उनका अनुसार जुवा खालबाट प्रहरीले २ लाख १४ हजार ९ सय ७० रुपैयाँसहित १६ थान कौडा र १ बुक तास पनि बरामद गरेको छ ।
जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा बागमती नगरपालिका–३ की ३० वर्षीया जमुना मोक्तान, ३५ वर्षीय सन्चरसिंह घिसिङ, वर्ष ३२ का प्रेम बहादुर वाइबा रहेका छन् । यस्तै, हरिवन नगरपालिका–११ का ३४ वर्षीय मणिलाल बोम्जन, ४२ वर्षका मनोज कुमार थिङ, ४५ वर्षका जगत स्याङतान र वर्ष ४१ का पनोज कुमार थिङलाई नियन्त्रणमा लिइएको डीएसपी यादवले बताए ।विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको र पक्राउ परेका जुवाडेमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
केही महिनाअघि मात्र धरहराबाट प्रहरीले ४ लाखभन्दा बढी रकमसहित १२ जना जुवाडेलाई पक्राउ गरेको थियो । यस क्षेत्रमा सेटिङमै जुवा खेलाउने काम चल्दै आएको स्थानीयको भनाइ छ ।







