धनुषामा दिउँसै दुई लाख रुपैयाँ लुटेर फरार भएका दुई जना युवा पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका १ का शर्मिला देवी यादवको हातबाट रकम लुटेर फरार भएका लक्ष्मीनियाँ गाउँपालिका ७ भगवतीपुरका जितेन्द्रप्रसाद साह र दिपेन्द्र मण्डल पक्राउ परेका हुन् । गत सोमबार शर्मिला मिल्स एरियास्थित एभरेष्ट बैंकबाट दुई लाख रुपैयाँ झिकेर घर जाँदै गर्दा मोनास्टिक स्कुल नजिक पुग्दा उनको हातबाट उनीहरुले पैसाको झोला झिकेर फरार भएका थिए । सोही घटनामा संलग्न भएको आरोपमा प्रहरीले विहीबार पत्रकार सम्मेलन गरी उनीहरुलाई नगदसहित सार्वजनिक गरेको छ । उक्त पैसा शर्मिलाको श्रीमान देवसरण यादवले साउदीबाट पठाएका थिए ।
प्रहरीले खोजतलाश गर्ने क्रममा सिसिटिभि फेटजबाट मोटरसाइकल नम्बर पत्ता लगाएका थिए । फुटेजमा प्रदेश २–०२–००५–प ००८५ नम्बर प्लेट भएको एमहा कम्पनीको एफ जेड मोटरसाइकलमा सवार व्यक्तिहरुले लुटेको पत्ता लागेको थियो । उक्त मोटरसाइकलको सवारी धनी लक्ष्मीनियाँ गाउँपालिका ७ का कृष्णप्रसाद साह रहको प्रहरीले अनुसन्धानकै क्रममा पत्ता लगाएका थिए । सवारी धनी कृष्णप्रसाद साह पक्राउ परेका जितेनद्रका दाई हुन् । प्रहरीले जितेन्द्रको घर खानतलासी गर्दा शर्मिलाको मोवाइल र ५४ हजार नगद बरामद गरेका थिए । सोही घरमा उनी लुकिछिपी बसिरहेका थिए । उनलाई पक्राउ गरी घटना बारे सोधपुछ गर्दा मोटरसाइकल आफूले चलाएको स्वीकार गरेका थिए । पैसाको झोला मोटरसाइकलमा बसेका दिपेन्द्र मण्डलले लुटेर दुबै जनाले नगद बाँडफाड गरेको उनले प्रहरीलाई बताएका थिए ।त्यसपछि प्रहरीले जितेन्द्रलाईसँगै लिएर दिपेन्द्रको घर पुगेका थिए । प्रहरीले दिपेन्द्र घरमै लुकिछिपि रहेको अवस्थामा नियन्त्रणमा लिइ उनको घरबाट ७८ हजार रुपैयाँ बरामद गरेको थियो । धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले उनीहरुले अरु पैसा खर्च गरिसकेको बताए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।







