काठमाडौं,१९,असार  ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । बैठक मंगलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ । बैठकले ९ वटा एजेण्डामा छलफल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा जानकारी गराउनुभएको छ । उहाँले बैठकको एजेण्डाहरुमा सहिदहरुप्रति श्रद्धाञ्जली, नयाँ केन्द्रिय कमिटी सदस्यहरुको शपथग्रहण, बैठक सञ्चालन प्रक्रियाबारे पार्टी अध्यक्षबाट जानकारी र प्रदेशहरुको तर्फबाट संक्षिप्त रिपोर्टिङ गर्ने रहेको बताउनु भयो । प्रदेशको तर्फबाट प्रदेशका अध्यक्षहरुले रिपोर्टिङ गर्ने र मधेस प्रदेशको हकमा भने प्रदेश इन्चार्जले रिपोर्टिङ गर्ने उहाँले जानकारी दिनुभयो । त्यसैगरी बैठकको कार्यसूचीमा अध्यक्ष दाहालबाट वर्तमान राजनीतिक परिस्थितिको सन्दर्भमा रिपोर्टिङ हुने पनि राखिएको छ । माओवादी केन्द्रको यस केन्द्रिय कमिटी बैठकको अन्य एजेण्डाहरुमा पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको चयन गर्ने, कार्यविभाजन गर्ने, स्थानीय तहको निर्वाचनको समिक्षा गर्ने, आगामी प्रदेश र संघीय निर्वाचनको तयारी तथा विविध विषयमा छलफल हुने अध्यक्ष दाहालले बताउनु भयो ।

महाधिवेशनदेखि नै रिक्त रहेको पदाधिकारी, स्थायी कमिटी र पोलिटब्यूरो गठन गर्ने कार्यसूची अध्यक्ष दाहालले पेस गरेसँगै सबै समितिहरु बन्नेमा बैठकमा सहभागी हुन आएका नेताहरु आशावादी देखिएका छन् । अर्कोतर्फ एजेण्डामा राखेर अन्तिममा निर्णय नहुने हो कि भन्ने आशंकापनि नेताहरुले गरेका छन् । बैठकस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै केन्द्रिय सदस्य लेखनाथ दाहालले यसपटक पार्टीको सबै समितिहरु बन्नुपर्नेमा केन्द्रिय सदस्यहरु एकमत भएको बताउनु भयो । उहाँले पार्टीको संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई व्यवस्थित ढंगले सञ्चालन गर्न नसकिने भएकाले पदाधिकारी लगायतका समिति चयन गर्नु आवश्यक रहेको बताउनु भयो । उहाँले भन्नुभयो – ‘यो पटक हाम्रो केन्द्रिय समितिको बैठकले कार्यसूची अनुरुप नै सबै निर्णय गर्नेछ । र हामीलाई आवश्यक पनि छ, पोलिटब्यूरो, स्थायी समिति र संगठनात्मक संरचनाको बारेमा नयाँ निर्णय लिनुपर्ने आवश्यकता महशुस भइसकेको छ । त्यसकारणले यो बैठकले सबै निर्णय लिनेछ । चयन हुनैपर्छ । चयन कसरी हुन्छ भन्ने विषयमा केन्द्रिय समितिको बैठकमै वृहत छलफल हुन्छ । तर अब चयन गरेरै निस्किने कुरा चाहीँ हाम्रो पार्टीको संकल्प हो । संगठनात्मक संरचना चुस्त, दुरुस्त नबनाइकन पार्टीलाई हामीले व्यवस्थित ढंगले सञ्चालन गर्न नसक्ने, कार्यविभाजन गर्न नसक्ने भएको कारणले गर्दा अहिलेको ऐतिहासिक माग हो । यो माओवादी पार्टीलाई मजबुद बनाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र आगामी निर्वाचनको तयारी गर्न पनि संगठनात्मक संरचनामा केही हेरफेर गर्नुपर्ने र नेतृत्वको कार्यविभाजन गर्नुपर्ने भएको कारणले गर्दा योपल्ट हामी केन्द्रिय समितिका सबै सदस्यहरुको माग पनि छ । बुझाइमा एकरुपता पनि पैदा भएको छ कि कमसेकम पदाधिकारी चयन गर्नुपर्छ र पोलिटब्युरो, स्थायी समिति निर्माण गर्नुपर्छ ।’

उहाँले पार्टी अध्यक्षलाई पार्टीका सबै संरचना चलाउनुपर्ने र राष्ट्रिय राजनीतिमा पनि भुमिका खेल्नुपर्ने भएको हुँदा धेरै बोझ भएको भन्दै अध्यक्षको सहयोगको लागि पनि छिटोभन्दा छिटो पार्टीका समितिहरु बन्नुपर्नेमा जोड दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here