काठमाडौं ,१५,असार ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगले लिएको प्रशासनिक तथा प्राविधिकतर्फको १०२ पदको परीक्षामा सबै परीक्षार्थी अनुतीर्ण भएका छन् ।आयोगले मंगलबार सार्वजनिक गरेको उपप्रशासक, शाखा अधिकृत, मुख्य कार्यालय सहायक, आर्थिक उपनियन्त्रक र लेखा अधिकृत पदको खुलातर्फको परीक्षामा एकजना पनि परीक्षार्थी उतीर्ण हुन सकेनन् ।उपप्रशासक पदमा ४ जनाको माग गरिएकोमा १२ जनाले लिखित परीक्षा दिएका थिए । शाखा अधिकृतमा ४० पदका लागि ५४२ जना, मुख्य कार्यालय सहायकमा ४३ पदका लागि ७७७, आर्थिक उपनियन्त्रकमा दुई पदका लागि ३, लेखा अधिकृत १५ पदका लागि १२९ ले परीक्षा दिएका थिए । तर ती पदमा एक जना पनि परीक्षार्थी उतीर्ण भएनन् ।परीक्षामा मर्यादा विपरीत गतिविधि गर्ने १३८ जनाको परीक्षा रद्द गरिएको पनि आयोगले जनाएको छ । लेखा सहायक, मुख्य लेखा सहायक र कार्यालय सहायकमा भने परीक्षार्थी उतीर्ण भएका छन् ।
२०७७ कात्तिक २८ गतेदेखि मंसिर १६ गतेसम्म र माघ २५ देखि फागुन २७ सम्म र लिएको प्रशासनिक तथा प्राविधिक पदहरुको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।उतीर्ण परीक्षार्थीहरुको प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ता यही असार २८ गते त्रिवि इन्जिनियरिङ अध्ययन संस्थान, सूचना तथा सञ्चार प्रविधि केन्द्र पुल्चोकमा बिहान ११ बजे हुने आयोगले जनाएको छ ।








