काठमाडौं ,५,असार ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै पूर्वमाओवादीहरू एक ठाउँमा आउने वातावरण बनेको बताएका छन् ।पार्टी निकट कर्मचारी संगठन नेपाल राष्ट्रिय कर्मचारी महासंघको केन्द्रीय समिति बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विभाजनलाई निषेध गर्दै एकताले ठाउँ लिन लागेको र पूर्वमाओवादीहरू छिट्टै एक ठाउँमा आउने जिकिर गरेका हुन् ।
उनले आन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्टाउने षड्यन्त्र भइरहेको भन्दै परिवर्तनकारी शक्तिहरू एक हुनुपर्नेमा जोड दिए । ‘संघीयतालाई उल्ट्याएर यसलाई कमजरोर बनाउने प्रयास भइरहेको छ’ उनले भने, ‘आन्दोलनबाट लडेर ल्याएको यो परिवर्तनलाई संस्थागत गर्दै यसमा टेकेर थप अगाडि बढ्ने र संविधानलाई थप परिमार्जित गर्ने संघर्षमा छौं ।’अध्यक्ष प्रचण्डले अहिलेको परिवर्तनमा कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको भन्दै कर्मचारीलाई राजनीतिकरूपमा संगठित हुने अधिकार रहेको बताए । ‘कर्मचारीहरुलाई पनि संगठित हुने, आन्दोलित हुने राजनीतिक रुपले प्रशिक्षित हुने अधिकार छ’ उनले भने, ‘परिवर्तन विरोधीहरू कर्मचारी संगठित भएको देख्न चाहँदैनन्, तर कर्मचारी संगठन र पार्टीबीच जीवन्त सम्बन्ध आजको महत्वपूर्ण आवश्यकता हो ।’उनले पार्टी र कर्मचारी संगठनबीच राम्रो सम्बन्ध भएन भने समाजवादको यात्रा कमजोर हुने तर्क गरे । ‘साथीहरूको पार्टीसँग सम्बन्ध राम्रो भएन भन्ने गुनासो आयो’ उनले भने, ‘अब कर्मचारीबाट पार्टी केन्द्रीय समितिमा सिधै लैजाने निर्णय गर्छौं ।’








