जेष्ठ २७, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीभित्र फरक–फरक धारणा रहेकाले स्थानीय तह निर्वाचनमा गठबन्धन प्रभावकारी हुन नसकेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै केन्द्रीय सदस्य पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धनको सम्बन्धमा पार्टीभित्रै फरक–फरक धारणा रहेकाले गठबन्धन प्रभावकारी हुन नसकेको बताउनुभएको हो । उहाँले पार्टी भित्रकै सम्पूर्ण शक्ति पार्टीलाई जिताउनका लागि नलागेको पनि बताउनुभयो । उहाँले गठबन्धनको कारणले कांग्रेसको परिणामलाई घटाएको र घाटा भएको निष्कर्ष पार्टीको नरहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धनले हाम्रो परिणामलाई घटाएको छ । उथलपुथल बनाएको छ । पार्टीलाई घाटा भएको छ भन्ने निष्कर्ष हाम्रो छैन । गठबन्धन पनि प्रभावकारी हुन सकेन त्यो भन्दा बढी हाम्रो कांग्रेस पार्टीको सम्पूर्ण शक्ति नेपाली कांग्रेसलाई जिताउनको निम्ति हामीले खर्चिने स्थिति निर्माण गर्न सकेनौँ । त्यसैले पहिला त हाम्रो सम्पूर्ण शक्तिलाई नेपाली कांग्रेसको उम्मेदवार जिताउनको निम्ति खर्चिने परिस्थिति हामी निर्माण गरौँ । त्यसपछि थप उपलब्धीको निम्ति गठबन्धन गर्ने स्थिति बनाउनुपर्छ भन्ने मलाई लाग्छ । गठबन्धन गर्दा पार्टीभित्र सम्पूर्ण नेता त्यो कुरामा सहमत भएको, एउटै धारणा आउने गरी अगाडी बढ्ने स्थिति हुनुपर्छ । कन्फ्युजन भएको, फरक– फरक कुरा गरेको स्थितिले गठबन्धनलाई प्रभावकारी बनाउन सकेन । केन्द्रीय तहबाट गठबन्धनका बारेमा जुन निर्णयहरु गरिएको छ । स्थानीय तहले त्यसलाई लागु नगरेको स्थिति पनि छ । त्यसैले यो ढंगको गठबन्धनले अपेक्षित परिणाम दिन सक्दैन । अर्को महत्वपूर्ण कुरा, गठबन्धन गणितका लागि मात्रै हो भन्ने कुराको शन्देश जानु हुँदैन । गठबन्धन संविधानका निम्ति हो । समृद्धिका निम्ति हो । एउटा निश्चित उद्देश्यका निम्ति हो । कसैलाई कमजोर बनाउन, गणितिय उपलब्धि हासिल गर्न मात्रै होइन । यसको वैचारिक साझा एजेण्डा हुनुपर्छ । त्यस अवस्थामा मात्रै गठबन्धन उपलब्धिमुलक हुन सक्छ भन्ने मलाई लाग्छ ।’केन्द्रीय सदस्य पौडेलले महानगरपालिका र उपमहानगरपालिकाको हकमा केन्द्रीय तहबाटै गठबन्धन गर्ने निर्णय गर्नुले परिणाम दिन नसकेको बताउनुभयो । उहाँले स्थानीय परिस्थितिजन्य गठबन्धन नभएका कारण महानगर र उपमहानगरपालिकामा अपेक्षाकृत नतिजा आउन नसकेको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा गठबन्धन गर्दा साझा एजेण्डा र स्थानीय परिस्थितिलाई आधारित बनाएर गरिनुपर्ने बताउनुभयो ।कांग्रेसले गठन गरेको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अन्र्तगतको अनुगमन, मुल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक समेत रहनुभएका नेता पौडेलले स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठुलो दलको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले वडा अध्यक्षले प्राप्त गरेको मतको आधारमा कांग्रेस सबैभन्दा ठुलो दल भएको बताउनुभयो ।सो उपसमितिले स्थानीय तह निर्वाचनको अध्ययन र विश्लेषण गरेर पार्टीलाई प्रतिवेदन बुझाएको उहाँले जानकारी दिनुभयो । उहाँले नेपाली कांग्रेसले १४१ स्थानमा नगरप्रमुख, १८८ स्थानमा गाउँपालिका अध्यक्ष, ११० स्थानमा नगर उपप्रमुख र १९० स्थानमा गाउँपालिका उपाध्यक्ष जितेको जानकारी दिनुभयो । त्यसैगरी, २ हजार ६६५ वडाध्यक्ष, २ हजार ६०६ महिला सदस्य, २ हजार ५५१ दलित महिला सदस्य र ५ हजार ३०७ खुला सदस्य जितेको पनि उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here