१३ वैशाख, बुटवल ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रुपन्देहीका १६ पालिकामध्ये १२ वटा पालिकामा प्रमुख/उपप्रमुखसहित १९ जना जनप्रतिनिधि दोहोरिएर उम्मेदवार बनेका छन् । जसमा ८ स्थानीय तहका मेयर/उपमेयर तथा अध्यक्ष/उपाध्यक्ष दुवैजना उम्मेदवार बनेका छन् ।सैनामैना नगरप्रमुख र उपप्रमुखमा एमालेबाट चित्रबहादुर कार्की र बिना राना पुन: उम्मेदवार बनेका छन् । यस्तै देवदह नगरप्रमुखमा कांग्रेसका हिरा खत्री र उपमेयरमा एमालेकी विद्यालक्ष्मी गुरुङ उम्मेदवार बनेका छन् ।यस्तै लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा मनमोहन चौधरी र उपमेयरमा जानकीदेवी श्रीवास्तव फेरि उम्मेदवार बनेका छन् । ०७४ सालको चुनावमा स्वतन्त्रबाट जितेका चौधरी अहिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रवेश गरेर उम्मेदवार बनेका हुन् । यस्तै उपमेयरकी उम्मेदवार श्रीवास्तव जसपाबाट जनता प्रगतिशील पार्टीबाट उम्मेदवार बनेकी हुन् ।यस्तै तिलोत्तमा नगरपालिकाको उपप्रमुखमा एमालेले जागेश्वरी चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । शुद्धोधन गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले किशुनचन्द्र चौधरी र शान्ता ज्ञवालीलाई नै पुन: उम्मेदवार बनाएको छ ।

यस्तै मर्चवारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा केशवानन्द बानियाँ र सुनिता कलवार नै उम्मेदवारमा दोहोरिएका छन् । अघिल्लो चुनावमा जसपाबाट जितेका उनीहरु लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेर उम्मेदवारी दिएका हुन् ।कोटहीमाई गाउँपालिका अध्यक्षमा जसपाका चन्द्रभूषण यादव उम्मेदवार बनेका छन् । यस्तै सम्मरीमाई गाउँपालिकाका अध्यक्षमा जितेन्द्रनाथ शुक्ला ‘बब्लु’ माओवादी केन्द्रबाट पुन: उम्मेदवार बनेका छन् ।अघिल्लो चुनावमा उनी फोरम लोकतान्त्रिकबाट निर्वाचित भएका थिए । रोहिणी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षमा सनोज यादव र शिवकान्ति हरिजन उम्मेदवार भएका छन् । अघिललो चुनावमा जसपाबाट निर्वाचित यादव दुई महिना अघि एमाले प्रवेश गरेर टिकट पाएका थिए । शिवकान्ति भने राप्रपाकी उम्मेदवार हुन् ।

मायादेवी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा ध्रुवनारायण चौधरी, तारादेवी यादव उम्मेदवार भएका छन् । दुवैजना कांग्रेसका उम्मेदवार हुन् । सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा अयोध्या थारु र अमृता गुरुङ उम्मेदवार भएका छन् । दुवैजना एमाले उम्मेदवार हुन् ।गैडहवामा बच्चुलाल केवट अध्यक्षमा उम्मेदवार भएका छन् । उनी जसपाका उम्मेदवार हुन् । रुपन्देहीका बुटवल उपमहानगरपालिका र सिद्धार्थनगरपालिकाका प्रमुख,उपप्रमुख तथा कन्चन र ओमसतिया गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष भने दोहोरिएर उम्मेदवार बनेका छैनन् । यद्यपि उनीहरु सबै दोहोरिन चाहेका थिए ।राजनीतिक विश्लेषक मनिकर कार्की पुरानालाई दोहोर्‍याउनु भन्दा नयाँ उम्मेदवारलाई स्थान दिँदा राम्रो हुने बताउँछन् ।उनी भन्छन्, ‘स्थानीय तहमा हुने वजेट, करारमा कर्मचारी नियुक्ति,नदीजन्य पदार्थको ठेक्कापट्टाबाट हुने लाभ जस्ता निहीत स्वार्थका कारण जनप्रतिनिधिहरु दोहोरिन टिकटका लागि ठूलो रकम खर्च गर्ने गरेको देखिन्छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here