जनकपुरधाम,चैत्र,१९।
रेल चढ्न टिकट काट्नका लागि पहिचानपत्र अनिवार्य गरिएको छ । खुल्ला सीमा र सुरक्षालाई मध्य नजर गर्दै रेल चढ्न केही कागजात अनिवार्य गरिएको छ ।नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने बताइएको छ । नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भए पनि चढ्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । आकस्मिक प्रवेशकालागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ । १० देखि १८ वर्ष उमेरका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ । यता जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा दर निर्धारण गरेको छ । सो अनुसार जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।








