१२ चैत्र, सुर्खेत ।
‘भन्नेहरूले त के-के भने, घुमेर के पाइन्छ ? खर्च कसले दिन्छ ? साथी को हो ? कहाँ जान लागेको ? के छ झोलामा ? केही गर्ने उम्मेरमा किन अनयासै डुलिरा ? मलाई यवात् कुरामा कुनै मतलब छैन ।म एक यात्री हुँ । मौनतामा यात्रा गर्छु । मलाई कसैको प्रश्नको जवाफ दिनु छैन । समयले दिनेछ, जवाफ । यात्रा एक गहिरो अनुभूति र अनुभव हो । यसलाई भन्न, सुन्न र सुनाउन सजिलो छैन ।अँ, साँच्चै यात्रालाई कसरी सुनाउने ? कसरी भन्ने ? तर आज म त्यही भन्न यहाँ छु ।’फागुन २८ गते । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली उत्सव’को मञ्चमा यसरी नै आफ्ना अनुभव सुनाउँदै थिइन्, सिर्जना सिज्जु ।
रुकुम पश्चिम, सानीभेरीकी २५ वर्षीया सिर्जनालाई एक पैकेलो (हिरो)को रुपमा निम्ताइएको थियो, उत्सवमा । उनकी हजुरआमा हिँडेकै बाटो आमा हिँडिन् । आमा जुन बाटोमा हिँडिन्, त्यही बाटो हिँडुन् भन्ने चाहन्थ्यो समाज तर उनी आमा र हजुर आमाभन्दा फरक बाटो हिँड्न चाहन्थिन् ।‘छोरी भएर यो गर्नुहुँदैन, त्यो गर्नुहुँदैन’ भन्ने सामाजिक मान्यतालाई चिर्न चाहान्थिन् । त्यसैले त आज उनीले एउटा परिचय बनाएकी छिन्, त्यो हो, ‘सोलो ट्राभलर’ अर्थात् एकल यात्री ।
सिर्जनाले पढिन् वनविज्ञान । छोरीले सरकारी जागिर खाएको हेर्न चाहन्थिन् आमा । तर, उनी केही समययता प्रकृति र समाजलाई बुझ्न वनजंगल चहार्न थालेकी छिन् । खोलानाला डुल्न र हिमाल चढ्न थालेकी छिन् ।उनी त्यस्तो ठाउँ पुग्छिन् जहाँ मानिस घुम्नैका लागि बिरलै पुगेका हुन्छन् । उनी एक्लै देशका विभिन्न भागमा यात्रा गर्छिन् । केही समय अगाडि डोल्पालगायत कर्णालीका विभिन्न ठाउँमा घुमेर फर्किएकी सिर्जना भन्छिन्, ‘कर्णाली बुझ्न यहाँको भूगोल घुम्नुपर्छ । मान्छेहरूसँग संवाद गर्नुपर्छ । घुम्ने उद्देश्यले आउनुस् तपाईं यसलाई महसुस गर्नुहुन्छ ।’
उनले कर्णालीको सौन्दर्य आँखामा अटाएकी छिन् । उनलाई कर्णालीका प्राकृतिक सुन्दरताले मात्रै लोभ्याउँदैन्, यहाँका मानिसहरूको सहयोगी भावनाले पनि आकर्षित गर्छ । र त कसैले सबैभन्दा मन पर्ने ठाउँ कुन हो भनी सोधे, उनी सीधा जवाफ दिन्छिन्, कर्णाली ।‘सोलो ट्राभलर’ अर्थात् एकल यात्रा गर्न सम्भव छ ? उनि भन्छिन्, ‘एकदमै सम्भव छ । कतिलाई त डर पनि लाग्ला । डर मान्नु पनि स्वभाविकै हो । महिलाहरूको लागी अझै सुक्षित मानिदैन् नेपाल । तर त्रासपूर्ण पनि छैन् ।’








