१ चैत, काठमाडौं । सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स०को वितरण प्रणालीमा अधिक चाप परेपछि मंगलबारदेखि नयाँ आवेदन लिन बन्द गरिएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार आवेदकको संख्या ५ लाख ७२ हजार पुगेपछि आवेदन प्रणाली बन्द गरिएको हो ।

विभागले अनिश्चितकालका लागि आवेदन बन्द गरेपछि लाइसेन्सको फारम भर्ने तयारीमा रहेकाहरु बिलखबन्दमा परेका छन् । सोमबार एक सूचना जारी गर्दै १ चैतदेखि अर्को सूचना नभएसम्मका लागि नयाँ निवेदन नलिने जानकारी गराएको थियो । आवेदकहरुको परीक्षा यथाशक्य छिटो टुंग्याउनुपर्ने भएको भन्दै विभागले सूचना प्रकाशन गरेको थियो ।अहिले विभाग र विभिन्न प्रदेश अन्तरगत रहेका लाइसेन्स कार्यालयहरुले समयमै सही तरिकाले परीक्षाको व्यवस्था गर्न नसक्दा सवारी लाइसेन्सको आवेदन, लिखित परीक्षा, प्रयोगात्मक परीक्षा (ट्रायल) र लाइसेन्स छपाइ र वितरणसम्मका सबै काम सरकारको नियन्त्रणभन्दा बहिर पुगेको छ ।यसअघि कोरोनाको कारण देखाएर लामो समय आवेदन रोकेका कारण नयाँ चालकहरु समस्यामा थिए । ६ महिना बन्द गरेर गत ९ कात्तिकदेखि लाइसेन्सको आवेदन लिन थालिए पनि प्रक्रियामा प्रवेश गरेकाहरु पनि ३ वर्षभन्दा पछि (२०२५ सम्मको) को मात्रै परीक्षाको मिति पाएपछि अन्योलमा छन् ।

लाइसेन्सको परीक्षा सुरु गरेका कार्यालयले प्रतिक्षा सूचीमा रहेको चाप छिटो घटाउने गरी कुनै पहलकदमी लिए नलिई नियमित शैलीमा परीक्षा लिइरहेका छन् । यहीबेला चाप व्यवस्थापनको काम गर्नुको साटो नयाँ आवेदन लिन बन्द गर्ने निर्णयमा विभाग पुगेको छ ।महामारीको कारण देखाएर चैत २०७६ पछि झण्डै पुस २०७७ सम्म अनुमतिपत्र बन्द थियो । झण्डै एक वर्षपछि आवेदन खुल्ला खुलेकाले अनलाइन प्रणालीमा चाप उच्च थियो । सुरुमा दैनिक कार्यालयहरुले दिएको कोटाअनुसार मात्रै फारम भर्न सकिने व्यवस्था थियो । त्यसैकारण विभागले ‘भिजिट मिति’ दिने गरी जति पनि फारम भर्न सकिने व्यवस्था गरेको थियो । त्यसपछि भने आवेदनको चाङ लाग्न थालेको थियो ।

त्यही अवस्थामा फेरि १६ वैशाख २०७८ देखि महामारीको दोस्रो लहरका कारण अनलाइन फारम भर्न बन्द गरिएको थियो, जुन कात्तिक महिना मात्रै खुलेको थियो । त्यसको ४ महिना नबित्दै फेरि विभागले आवेदन लिन बन्द गरेको हो ।विभागका प्रवक्ता लोकनाथ भुसाल आवेदन दिएर प्रतिक्षारत नागरिकलाई तुरुन्तै परीक्षा दिने वातावरण बनाउन आवेदन बन्द गरिएको दाबी गर्छन् । अब आवेदकहरुलाई मोबाइलमा म्यासेज पठाएर अग्रिम रुपमै सेवा लिन आउन आग्रह गर्ने बताउँछन् ।‘आवेदन दिएको एक हप्ताभित्र नै लाइसेन्सको परीक्षा लिने गरी व्यवस्था गर्न नयाँ आवेदन लिन बन्द गरेका छौं,’ उनले भने, ‘यातायात कार्यालय र ट्रायल सेन्टरको क्षमता बढाएर छिटो लाइसेन्स दिन चाहान्छौं ।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here