नेकपा (एकीकृत समाजवादी) का सांसद झलनाथ खनालले एमसीसीको कुरा सदनमा कहिल्यै नमिल्ने दाबी गर्नुभएको छ ।

बिहीवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा सांसद खनालले एकथरि महाशक्ति राष्ट्रको पछि लागिरहेको र अर्कोथरि देशको स्वाधिनता र स्वाभिमान बचाउन लागेकोले एमसीसीको कुरा कहिल्यै नमिल्ने दाबी गर्नुभएको हो । उहाँले एमसीसीको बिरुद्धमा अहिले सडकमा आन्दोलन र प्रदर्शन भइरहेको भन्दै अब सडक तात्ने मात्र नभइ बल्ने गरी आन्दोलन हुने चेतावनी दिनुभयो ।

सांसद खनालले भन्नुभयो, ‘ एमसीसीले सिंगो देश विभाजित भइरहेको छ । पार्टीहरु विभाजित भइरहेका छन् । संसद पनि विभाजित भइरहेको छ । यसलाई अझै विभाजित कसरी गर्ने भन्नेमै लागेको हो कि भन्ने लागिरहेको छ । नेताहरुले दूरदर्शी भएर सिंगो राष्ट्रलाई आफ्नो ध्यानमा राखेर सम्पूर्ण जनतालाई एकतावद्ध बनाएर लैजानुपर्छ भन्ने प्रतिवद्धता उनीहरुले बिर्सिए भन्ने मलाई लाग्छ । हाम्रो पार्टी एकतावद्ध भएर जान्छ । पार्टीभित्र चिन्तनहरुमा तलमाथि हुनसक्छन् । यो निर्णयमा हामी एकतावद्ध हुन्छौँ । गठबन्धन भत्कन्छन्, बन्छन् यी अस्थायी घटनाक्रम हुन् । देश, जनता, राष्ट्रको हितलाइ कहिल्यै छोडिँदैन त्यसमा दृढतापूर्वक हामी अघि बढ्छौँ । एमसीसीले कुरा कहिल्यै मिल्दैन । एकथरि महाशक्तिको पछि लागेका छन् । अर्कोथरि देशको स्वतन्त्रता, सार्वभौमिकतामा लागेका छन् । सडक आवश्यक्ता बमोजिम तात्छ, तात्छ मात्रै होइन, त्यो बल्छ ।’

त्यस्तै गृहमन्त्री तथा नेपाली काँग्रेसका सांसद बालकृष्ण खाँणले एमसीसी पास हुने आशंका व्यक्त गर्नुभयो । उहाँले नेपालमा कतिपय घटनाक्रमहरु पहिला हुँदैन भनिए पनि पछि भएको प्रमाण रहँदै आएको भन्दै एमसीसी सकारात्मक ढंगले अघि बढ्ने बताउनु भयो । उहाँले सरकार सदन सुचारु रुपम चलाउन लागि परेको पनि बताउनु भयो ।

गृहमन्त्री खाँणले भन्नुभयो, ‘सरकार सदन सुचारु गराउन चाहन्छ, सदनलाई सुचारु गराउनका लागि नै सरकारले, प्रधानमन्त्रीजीले राजनीतिक दलका नेताहरुसँग संवाद गर्नुभएको छ । नेपालमा कतिपय घटनाक्रमहरु हुँदैन जस्तो हुन्छ तर पछि सकारात्मक भएका छन्, आशा गरौँ, सकारात्मक ढंगले अघि बढ्ला र सदनको गतिरोध पनि अन्त्य होला । सदनमा प्रश्तावित भएका प्रश्तावहरु पनि अगाडि बढ्लान् । पास होलान् । सरकारमा रहेका घटकले सरकारकै पक्षमा समर्थन गर्नुपर्छ ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले शक्ति राष्ट्रहरुको चपेटामा देश परेको बताउनु भयो । उहाँले एमसीसीमा राष्ट्रहित विपरित धेरै प्रावधानहरु रहेको भन्दै त्यो नसच्याइ नेकपा एमाले जस्तो जबजको सिद्धान्त र महाधिवेशनबाट पारित कार्यक्रमहरु बोकेको पार्टीले एमसीसीमा समर्थनमा जानु नहुने बताउनु भयो । सांसद रावलले नेकपा एमालेको नीतिमा भएका कुराहरुले पनि एमसीसीको समर्थन गर्न नदिने जिकिर गर्नुभयो ।

सांसद रावलले भन्नुभयो, ‘ कुर्सीको लागि खिचडी पकाउने, राष्ट्र जतासुकै जाओस्, त्यसको मतलव नराख्ने । यत्रो जनता र यसबाट पर्ने कुप्रभावहरु छ, त्यसप्रति संवेदनशील नहुने, कुराको नै यो एउटा परिचायक हो जस्तो मलाई लाग्छ । यथास्थितीमा एमसीसी पास गरियो भने यसले नेपाललाई द्वन्द्वको भुमरिमा लैजान्छ । शक्ति राष्ट्रहरुको द्वन्द्वको चपेटामा यो देश पर्छ भनेर मैले आज होइन, शुरुको दिनमा भनेको थिएँ । अहिले त्यो कुराको पुष्टि हुँदैछ । नेकपा एमालेको कुरा जहाँसम्म छ, महाधिवेशनबाट पारित कार्यक्रम, जनताको बहुदलीय जनवाद, २००६ सालदेखि एमालेले राष्ट्रिय झण्डालाई जुन बुलन्द गरेको थियो । त्यो कुरालाई राम्ररी आत्मसाथ गर्ने हो भने यो सम्झौताका राष्ट्रघाती जुन प्रावधान छन्, एउटा मात्रै सम्झौता छैन, एक दर्जनभन्दा बढी सम्झौता छन् । तिनलाई नसच्याइ नेपालको कानून, स्वाधीनता, स्वाभिमान, नेपालको हित विपरितका कुरा नहटाइ नेकपा एमालेजस्तो पार्टीले समर्थनमा जाँदैन । नेकपा एमालेको नीतिमा अंगीकार भएका कुराले यसको समर्थनमा जान दिँदैन ।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा यथास्थितिमा एमसीसीको विपक्षमा रहेको बताउनु भयो । उहाँले ठूला राजनीतिक दलको केटाकेटी पन र आलोकाँचो व्यवहारका कारण देश आज शक्तिराष्ट्रहरुको रणनीतिक स्थलको रुपमा परिणत भइरहेको र परराष्ट्रनीतिमा सन्तुलन बिग्रिरहेको बताउनु भयो । सांसद लिङदेनले देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राप्रपा नरहने पनि स्पष्ट पार्नुभयो ।

सांसद लिङदेनले भन्नुभयो, ‘राप्रपा यथास्थितिमा एमसीसीको विपक्षमा छ । हामीले निरन्तर रुपमा खास गरेर ठूला राजनीतिक दलहरुको केटाकेटी पनको कारण आलो काँचो व्यवहारको कारण परराष्ट्रनीतिमा सन्तुलन बिग्रियो । उनीहरुको केटाकेटी क्रियाकलापको कारण शक्तिराष्ट्रहरुको रणनीतिक स्थलको रुपमा देश परिणत भएको छ । यथास्थितिमा एमसीसी पास गरेर जान सकिँदैन । देश र जनतालाई विभाजित गर्ने खालको क्रियाकलापको पक्षमा राप्रपा रहँदैन । एमसीसीको पक्षमा मतदान गर्दैनौँ ।’

त्यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद योगश भट्टराईले गठबन्धन भत्काउन नेकपा एमालेले धुप हाल्ने र गणेशलाई पूजा गर्ने काम नगरेको भन्दै गठबन्धन सत्तारुढ दलहरुकै कारणले भत्किने बताउनु भयो । उहाँले गठबन्धन भत्किएपछि मात्रै देशले निकास पाउने र गठबन्धन रहुन्जेल देश अनिर्णयको बन्दी हुने भन्दै गठबन्धन छिटो भत्किँदा राम्रो हुने बताउनु भयो । सांसद भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेलाई ब्ल्याङ्क चेकको माग गरिरहेको बताउनु भयो । उहाँले एमाले आफ्नो माग पूरा नभएसम्म कुनै पनि कुरामा सहभागी नबन्ने भन्दै उहाँले स्पष्ट रुपमा एमालेसँग ब्ल्याङ्क चेकमा नभइ ब्ल्याक एण्ड ह्वाइटको कुरा हुनुपर्ने बताउनु भयो । सांसद भट्टराईले अहिले पार्टी र भातृ संगठनका कुराहरु ल्याएर राष्ट्रिय मुद्दा बनाइ नेपाललाई राजनीतिको चलखेल गर्ने अखडा बनाइएको आरोप लगाउनु भयो । उहाँले गठबन्धन सरकारले देशको बेइज्जत गरेको र मुलुकको अन्तर्राष्ट्रिय शक्ति अत्यन्तै कमजोर बनाएको पनि बताउनु भयो । सांसद भट्टराईले देशलाई कमजोर बनाएको जिम्मा प्रधानमन्त्री देउवाले लिनुपर्ने पनि बताउनु भयो ।

सांसद भट्टराईले भन्नुभयो, ‘सत्तापक्षको मुख्य दल र प्रतिपक्षको बीचमा संवाद हुनु राम्रो कुरा हो । त्यो संवादले आजको शंकटको समाधान गर्छ कि गर्दैन ? भन्ने कुराको कुनै सुनिश्चितता भएको छैन । यसमा सत्ता पक्षले हामीले उठाएका कुराहरुको पूरा सम्बोधन नगरिकन ब्ल्याङ्क चेक दिनुहोस् भनिराख्नुभएको छ । शेरबहादुरजीले । नेकपा एमालेले ब्ल्याङ्क चेक दिँदैन । सबैभन्दा पहिला कुरा के हो प्रष्टाप्रष्टी हुनुपर्छ । ब्ल्याक एण्ड ह्वाइटमा कुरा हुनुपर्छ । अहिले पार्टीका शंकट, पार्टी भित्रका गुटका शंकट पार्टीमा थुपार्ने, पार्टीको शंकट ल्याएर गठबन्धनमा थुपार्ने, गठबन्धनको शंकटलाई राष्ट्रिय शंकटको रुपमा नेपाललाई राजनीतिको चलखेल गर्ने अखडाको रुपमा जुन बनाइएको छ, यो राष्ट्रिय शंकट खडा गरिएको छ, यो अहिलेको गठबन्धनको सर्वथा असफलता हो । यसले मुलुकलाई अन्तर्राष्ट्रिय रुपमा बेइज्जत गरेको छ, मुलुकको अन्तर्राष्ट्रिय शक्ति अत्यन्तै कमजोर भएको छ । यसको सम्पूर्ण जवाफदेहीता अहिलेको गठबन्धन सरकारले लिनुपर्छ । प्रधानमन्त्रीजीले लिनुपर्छ । एमाले विपक्षमा छ, एमालेलाई सत्तापक्षबाट कुनै पनि बिल पास गर्ने दायित्व छैन । यो संसदीय व्यवस्थामा सत्ता पक्षको हो । गठबन्धन भत्काउन हामीले धुप हालेका छैनौँ, गणेशलाई पूजा गरेका छैनौँ । भत्किए पनि उहाँहरुको कारणले भत्किन्छ । यो भत्किनु मुलुकको निकासको निम्ति अनिवार्य छ । गठबन्धन जहिलेसम्म रहन्छ मुलुक अनिर्णयको बन्दी भइरहन्छ । त्यसैले यो छिटो भत्किनुपर्छ ।’

नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले आज बेलुकासम्म सत्ता समीकरण रहिराख्ने र नरहने बारेमा स्पष्ट हुने बताउनु भयो । उहाँले भोलि (शुक्रवार) एमसीसीको बारेमा टुंगो लाग्ने र सरकार पक्षमा स्पष्ट र आरामदायी बहुमत जुटाउने पक्षमा रहेको विश्वास व्यक्त गर्नुभयो । सांसद विश्वकर्माले नेकपा एमालेले सरकारबाट सत्ता गठबन्धन टुटेमा आफू आउन तयार रहेको बताएको पति दाबी गर्नुभयो । उहाँले नेपालको स्वतन्त्रताका लागि लडेको देशले सित्तैमा दिएको सहयोगलाई नांगेझार बनाएर र नाराजुलुस् गरेर खेट्न नमिल्ने पनि बताउनु भयो ।

सांसद विश्वकर्माले भन्नुभयो, ‘एमालेसँग लामो समयदेखि कुरा भइरहेको छ । उहाँहरुले तपाई आउनुस् बस्नुस् भन्नुहुन्छ, कुर्सी नै खालि छैन, पहिला कुर्सी खालि गराउनुस् । हामी आइहाल्छौँ भन्नुभएको थियो । सत्तामा बसेकाहरु कुर्सी पनि नछोड्ने, ढुंगा हान्न पनि नछोड्ने भन्ने भयो । त्यसैले आज एकदिन भित्रमा कि ढुंगा हान्न छोड्नुस्, कि कुर्सी छोड्नुस्, भन्ने हाम्रो कुरा हो । एमसीसी एमसीसी मात्रै होइन, एमसीसी पैसा होइन, एमसीसी हाम्रो देशको अन्तर्राष्ट्रिय सम्बन्ध र हाम्रो देशलाई नेपाल सार्वभौमिकता सम्पन्न स्वतन्त्र राष्ट्र हो भनेर संयुक्त राष्ट्र संघमा पहिलो पटक प्रश्ताव लिएर जाँदा कसले कसले बिरोध गरेका थिए भन्ने हामीलाई थाहा छ । नेपालको स्वतन्त्रताका लागि लडेको राष्ट्रलाई पैसा दिएबापत नांगेझार बनाएर मसाल जुलुस गर्दैछौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको अनुहारमाथिको विश्वासमा जब शंकट आयो र हामी विभाजित हुन थाल्यौँ भने, यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान समाप्त हुन्छ । हामीले भोलिकै दिन टुंग्याउने गरी सरकारका पक्षमा स्पष्ट र आरामदायी बहुमत जुटाउने पक्षमा छौँ । आज बेलुकासम्ममा गठबन्धन रहन्छ वा रहन्न भन्ने कुरा थाहा हुन्छ ।’

त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीका सांसद शरदसिंह भण्डारीले पार्टी एमसीसीको पक्षमा रहेको बताउनु भयो । उहाँले यसको निर्णय गर्ने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिएको र पार्टीले एमसीसीको पक्षमा मतदान गर्ने पनि बताउनु भयो ।

सांसद भण्डारीले भन्नुभयो, ‘एमसीसीको पक्षमा हामी छौँ । यसको सम्पूर्ण अधिकार अध्यक्ष महन्थ ठाकुरज्यूलाई दिएका छौँ । लोकतान्त्रिक समाजवादी पार्टी एमसीसीको पक्षमा छ ।’

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का सांसद जीवनराम श्रेष्ठले गठबन्धन कायम रहने र यथास्थितिमा एमसीसी पास नहुने दाबी गर्नुभयो । उहाँले संशोधन र परिमार्जन गरेर अघि बढ्ने स्थिति भएमा पार्टीले पुनः विचार गर्ने पनि स्पष्ट पार्नुभयो ।

सांसद श्रेष्ठले भन्नुभयो, ‘गठबन्धन कायम छ कायम रहिरहन्छ । यथास्थितिमा एमसीसीमा समर्थन गर्न सक्दैनौँ । संशोधन र परिमार्जन गरेर अघि बढ्ने स्थिति भयो भने हामी पुनः विचार गर्छौं । पार्टीले जे निर्णय गर्छ हाम्रा सांसदहरु त्यही अनुसार अघि बढ्नुहुन्छ । पार्टी एक ढिक्का छ । सभामुख र प्रधानमन्त्रीले प्रमुख प्रतिपक्ष दलसँग कुरा गरेर भइरहेको अवरोध हटाएर एमसीसीको छलफल गर्ने वातावरण मिलाउनु पर्छ ।’

त्यस्तै नेकपा (माओवादी केन्द्र)का सांसद गिरिराजमणि पोखरेलले सरकारले सत्तारुढ दलहरुले एमसीसी यथास्थितिमा पास हुन नसक्ने भन्दै गर्दा यसलाई सकारात्मक ढंगले लिनुपर्ने बताउनु भयो । उहाँले आज सरकारले संसद रोक्नुको कारण वृहत सहमतिका लागि नभएको पनि उहाँले बताउनु भयो । उहाँले सरकारले पास गराउनका लागि बहुमत पु¥याउन नसक्दा विभिन्न गतिविधि गरेको बताउनु भयो । सांसद पोखरेलले एमसीसी बारेमा सरकार भोटिङ चरणमा गइसकेपछि आफ्नो पार्टी गठबन्धनमा नरहने बताउनु भएको पनि स्पष्ट पार्नुभयो ।

सांसद पोखरेलले भन्नुभयो, ‘एमसीसीलाई यथास्थितिमा अघि बढाउन सकिँदैन भनिरहेको परिवेशमा सहमति गर्ने कुरालाई सकारात्मक ढंगले लिनुपर्छ । तर सहमति कतातिर पास गराउनको लागि अझै समय नपुगेको कारणले समय लिन खोजेको हो कि, साच्चै सार्थक एउटा छलफल गर्नको लागि हो । सरकारको तर्फबाट आज रोक्न खोजेको कुरा वृहत सहमति अन्तर्गत मलाई लाग्दैन । यो आफूले ल्याएको प्रश्तावको पक्षमा अहिले बहुमत नभएको कारणले लिंगरिङ गर्ने र अन्य खालका पृष्ठ भागका गतिविधि गर्नको लागि आज सार्न खोजेको हो भन्ने बुझिन्छ । हाम्रो अध्यक्षको तर्फबाट फाइनल्ली भोटिङमा गइसकेपछि गठबन्धनमा हामी रहँदैनौँ भन्ने कुरा जानकारी गराउनुभएको छ ।’

त्यस्तै नेकपा एमालेका सांसद खगराज अधिकारीले संसदलाई सरकारले निकम्भा बनाएर जुन बेला मन लाग्यो त्यही बेला संसद बन्द गराएको भन्दै आपत्ति जनाउनु भयो । उहाँले सरकारमा रहँदा प्रचण्डले नै दुई पटक एमसीसी अघि बढाएको र कुलमान घिसिङलाई विज्ञ बनाएर एमसीसीमा छानिएको भन्दै तमासा मच्चाउने र जनतालाई उकास्ने तथा संसदमा टेबुल गर्ने काम भइरहेको बताउनु भयो ।

सांसद अधिकारीले भन्नुभयो, ‘संसदलाई यस्तो निकम्भा बनाइएको छ, कि पहिले नै सूचना टास्नुपर्दथ्यो । संसदलाई निस्क्रिय, निष्प्रभावी, अकर्मण्य बनाउने काम जो भइरहेको छ । एमसीसी अहिले जुन तमासा मच्चाइएको छ सडकमा यो जनतालाई उकासियो । एमसीसीलाई पहिला शुरु गरेको झलनाथ खनालहरुले । माधव नेपालहरु त्यसमा हुँदै हुनुहुन्थ्यो । बाबुरामजी, प्रचण्डजीले दुई पटक अगाडि बढाउनु भएको थियो । एमसीसीका प्रयोजन आज देख्नुभयो । गर्ने उहाँहरु नै हो, तमासा मच्चाउने पनि उहाँहरु नै हो । टेबुल गर्ने पनि उहाँहरु नै हो । कृष्णबहादुर महरा हुँदा आएको हो । किन उहाँ सभामुख हुँदा संसदको बिजनेसमा ल्याउनु भएन । अहिले सभामुख भन्ने कि के मुख भन्नेले किन टेबुल गर्नुभयो ? किन कुलमान घिसिङलाई विज्ञ देखाएर छानियो । यी कुरा र बास्तविकता त फरक छ नि । काँग्रेसले मूर्ख काम गरेको छ । उसले कहिले फैसलाको आधारमा सुशिला कार्कीलाई महाअभियोग लगाउँछ, ए बाबा यो तमासा नगर भन्न हामी नै जानुपर्छ । अहिले चोलन्द्रले परमादेश गरिदिएर सरकार बनाइदियो, खुशी हर्ष बढाइ गरे, एमसीसीमा हामी गरौँला भनेर कसले भनिदियो, त्यसपछि महाअभियोग ल्याएर दर्ता गरे, हामी त भड्खलामा परियो भनेर काँग्रेस भन्न थालेको छ । काँग्रेसको पोजिशन अझै क्लियर छैन ।’

सांसद अधिकारीले नेपाली काँग्रेस अहिले आफू गम्भीर शंकटमा परेको कुरा एमालेसँग भनिरहेको र अझै पनि काँग्रेसले आफ्नो पोजिशन क्लियर नगरेको बताउनु भयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here