काठमााण्डौं ।
लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय कार्यकारणी सदस्यद्वय बृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गर्नु भएको छ ।
मंगलबार जनकपुरमा पत्रकार सम्मेलनगरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्नु भएको हो । लाल राष्ट्रियसभाका पुर्वसदस्य हुनुहुन्छ भने डा. सिंह संविधानसभा सदस्य हुनुहुन्छ । मधेश केन्द्रित दलहरुले मधेशको एजेन्डानै छाडेकाले मधेशी जनताको हितका लागि सो पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टीमा समावेश भएको दुवै नेताले बताउनु भयो । नेता लालले नेतृत्व पंक्ति मधेस केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेसी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाउनु भयो । उहाँले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेस राष्ट्रलाई जात र सम्बन्धवादमा विभाजित गरि सिमित गर्न खोजिएको आरोप लगाउनु भयो । नेता लालले मधेसी जनताको चाहना अनुसार स्वच्छ क्षेत्रीय आकांक्षा र आवश्यकता बमोजिम स्वशासन र संघियताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेस एजेण्डाप्रति प्रतिवद्ध राजनीतिक दलको आजको आवश्यकता भएकाले हामी आवद्ध रहेको आ–आफनो दलहरु आजैको मितिबाट परित्याग गरि तराई मधेस लोकतान्त्रिक पार्टीमा समावेश भएको जानकारी गराउनु भयो ।
डा. सिंहले मधेसी जन विद्रोहबाट जन्मेका शक्तिहरु विस्तारै मधेश शब्दबाट बिमुख हुँदै गएको बताउनु भयो ।
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेताहरू तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) ब्युँताउने अन्तिम तयारीमा जुटेका छन् ।
आन्तरिक द्वन्द्वबाट जुधिरहेकै बेला लोसपाका शीर्ष नेताहरू तमलोपालाई सक्रिय बनाउने अभियानमा जुटेका छन् ।
जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो । धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो । कर्ण नेता लालनिकट मानिन्छन् । मधेस आन्दोलनको सुरूवातसँगै तमलोपाहुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरूलाई अवमूल्यन गरेको असन्तुष्ट बनेका नेताहरूले आरोप लगाउँदै आइरहेका छन् ।








