काठमाण्डौं, ५ फागुन ।
साझा प्रकाशनले व्युत्पत्तिमूलक संस्कृत–नेपाली शब्दकोश प्रकाशन गरेको छ ।
साझा प्रकाशनले नेपाली भाषामा प्रयोग भएका संस्कृत शब्दको व्युत्पत्तिसहितका शब्दहरु सङ्ग्रहीत शब्दकोश प्रकाशन गरेको हो । कोषकार प्राध्यापक नीलमणि ढुङ्गानाले नेपाली भाषामा प्रयोग गरिएका संस्कृतका शब्दहरुको निर्माण कसरी भयो भन्ने बारेमा कोशमा उल्लेख गर्नुभएको छ । कोशमा धातुका प्रतिनिधि रुप र शब्द गरी ३५ हजार शब्द व्युत्पादित छन् भने २ हजार पारिभाषिक शब्द छन् । अहिलेसम्म नेपाली भाषामा यस किसिमको शब्दकोश प्रकाशित भएको छैन । यसमा प्रयोग भएका संस्कृतका शब्दहरु संस्कृत वाङ्मयमा बढी प्रचलित छन् । केही नेपाली वाङ्मयमा पनि प्रयोग गरिएका छन् । तिनलाई देवनागरिक लिपिको परम्पारगत वार्णिक प्रणालीका क्रममा अथ्र्याइएको छ । शब्दहरुको प्रयोगस्थल निर्देश हेर्दा अधिकांश सूक्तिमय काव्यबाट लिइएको छ । यो शब्दकोश विद्यार्थी, प्राध्यापकका लागि मात्र नभई अन्वेषक, अनुसन्धाताका लागि अन्वेषणको माध्यम बनेको साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले जानकारी दिनुभयो ।
घिमिरेले भन्नुभयो, ‘नेपाली भाषामा प्रयोग भएका संस्कृतका शब्दहरु कसरी बने ? भन्ने जिज्ञासा सबैलाई हुने नै भयो । यही क्रममा प्राध्यापक नीलमणि ढुङ्गानालले व्युत्पत्तिमूलक शब्दकोश तयार गर्दै गरेको जानकारी आयो । उहाँलाई हामीले साझा प्रकाशनमा निम्त्यायौँ । उहाँले पेश गरेको नमुनाअनुसार शब्दकोश बनाउन उपयुक्त छ कि छैन भनेर हामीले विज्ञहरुलाई पठायौँ र उहाँहरुले दिनुभएको प्रतिवेदनका आधारमा प्राध्यापक ढुङ्गानालाई शब्दकोश तयार गर्न भन्यौ । यस कोशभित्र ३५ हजार शब्द मूल शब्दको व्युत्पत्ति छ, २ हजार पारिभाषिक शब्द छन् । व्युत्पत्तिमूलक भने पनि संस्कृत मात्रै छैन । उहाँले धेरै ग्रन्थहरु अध्ययन गरेर त्यो शब्द कहाँ प्रयोग भएको छ र कुन अर्थमा प्रयोग भएको छ भन्ने उदाहरण राख्नुभएको छ । शब्दकोश १४ सय २० पृष्ठको छ । यो पाठकहरुका लागि अथवा अनुसन्धाताका लागि बहुमूल्य ग्रन्थ सावित हुनेछ भन्ने हामीले आशा गरेका छौँ ।’
पूर्वसचिव एवं संस्कृत वाङ्मयका ज्ञाता कृष्ण ज्ञवालीले तत्सम शब्दहरुको निर्माण प्रक्रियाबारे शब्दकोशमा विस्तृत उल्लेख गरिएको बताउनुभयो । यो कोष भाषाको क्षेत्रमा चासो राख्ने अध्येता, अनुसन्धाता र सरकारी कार्यालयहरुमा शुद्ध नेपाली शब्द राख्न रुचाउनेहरुका लागि अत्यन्तै उपयोगी भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यसमा शब्दहरुको व्युत्पत्ति गरिएको छ । व्युत्पत्ति भनेको चिरफार हो । संस्कृतका शब्दहरु नेपाली भाषामा प्रशस्त छन् । तिनलाई धेरैजसो तत्सम अर्थात् संस्कृतमा जसरी प्रयोग गरिन्थे, त्यसै गरी प्रयोग गरिने, त्यसमा कुनै फेरबदल नगरिने हिसावले तत्सम रुपमा प्रयोग गरिन्छन् । केही शब्दहरु तद्भवीकरण भएका छन्, अर्थात् नेपालीमा प्रयोग गर्दा नेपाली लवजमा थोरै परिवर्तन गरेर उच्चारण गरिने खालका बनेका छन् । ती सबै तत्सम र तद्भव शब्दहरुको मुल संस्कृत हो । संस्कृतमा तिनले के अर्थ दिँदा रहेछन्, ती शब्दहरुको निर्माण कसरी भएको रहेछ ? भन्ने थाहा पाउन यो शब्दकोषले सहयोग पु¥याउँछ । भाषाको क्षेत्रमा चासो राख्ने अध्येता यो अत्यन्त उपयुक्त छ । ’
पूर्वसचिव ज्ञवालीले नेपाली भाषाबाहेक पनि किराँती, लिम्बू, मगर, गुरुङ, तामाङ भाषाहरुमा संस्कृत शब्दहरु प्रयोगमा ल्याइएकाले ती शब्दहरुलाई समेत समावेश गरी आगामी संस्करणमा प्रकाशन गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘ग्रन्थ साह्रै मननीय, प्रशंसनीय छ तर अझै पनि केही शब्दहरु छुटेका छन् । रामायणको बारेमा निकै राम्रो परिचय छ तर रामायण शब्दकै व्युत्पत्ति छैन । केही रामायणहरुको नाम छुटेको छ । नेपालीमा चलेका जति पनि संस्कृत शब्दहरु छन्, तीमध्ये केही शुद्ध हुन् कि होइनन् भन्ने अलिकति खुलदुली हुन्छ हामीलाई— राजनीतिक हुन्छ कि राजनैतिक भन्ने फेला पारिनँ मैले । मन्त्रीपत्नीलाई हामी मन्त्राणी शब्द प्रयोग गर्छौं नि, त्यो शुद्ध छ कि छैन ? भनेर लेख्नुभएको छैन । जस्तो भ्रान्त शुद्ध हो कि भ्रमित ? दिग्भ्रमित पनि भन्छन्, दिग्भ्रान्त पनि भन्छन् । नेपालीमा जबरजस्ती चलाएका शब्दहरु अशुद्ध हुन् भनिदिनुपर्ने हुन्छ । जस्तो अन्तरसंवाद भन्छन्, यो शुद्ध होइन, अन्तःसंवाद शुद्ध हो । नेपालका अन्य भाषाहरु किराँत, लिम्बू, मगर, गुरुङ, तामाङ यी भाषाहरुमा पनि संस्कृतका शब्दहरु छन्, त्यहाँबाट पनि ल्याउन सकिन्छ ।’
प्राध्यापक ढुङ्गानाले झन्डै १० वर्ष लगाएर तयार पारेको कोशमा सांस्कृतिक पक्ष, तीर्थस्थल, देवस्थल, वेदवेदाङ्ग, उपनिषद्, रामायण, महाभारत, दर्शन, पुराण, काव्यशास्त्र, योगशास्त्र, आयुर्वेद, कला, नीतिशास्त्र, विभिन्न सम्प्रदाय र तिनका विशेषता, वाङ्मयका विविध शाखा र विकासक्रम आदि समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here